ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश २ को विकास बजेटमा ‘ठेकेदार’ माननीयको रजाइँ !

Apr 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वैशाख १०, वीरगञ्ज । प्रदेश २ सरकारको विकास योजनामा सत्तासीन दलका ‘ठेकेदार’ प्रदेशसभा सदस्यले व्यवसायिक दुनो सोझ्याएको भेटिएको छ । पर्साको पोखरिया–लङ्गडी–मिर्जापुर सडक निर्माणको ठेक्कामा मिलेमतो पाइएपछि विभागीय भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवले ठेक्का रद्द गरिदिएका छन् । यस्तो योजनाको ठेक्का पुनः आह्वान गरिएको छ । संघीय समाजवादी फोरम नेपालबाट पर्सा ४ ‘ख’मा चुनाव लडेर प्रदेशसभा सदस्य बनेका सिंहासन साह कलवारले आफैंले ल्याएको सडक योजनाको निर्माण आफ्नै निर्माण कम्पनीलाई पार्ने प्रपञ्च मिलाएका हुन् । १४ किलोमीटर सडकको ठेक्का कलवारको रन्जन निर्माण सेवा र रोशन कन्स्ट्रक्सनले साझेदारीमा लिने चाँजोपाँजो मिलाइएकोमा सचिव पुष्करनाथ घिमिरेले हस्तक्षेप गरेको मन्त्रालयसम्बद्ध स्रोतले बतायो । प्रदेशसभा सदस्यले ल्याएको योजनाको ठेक्का उनैलाई पार्दा विवाद आउन सक्ने भन्दै मन्त्रालयले मातहतको जिल्ला कार्यालयलाई ठेक्का पुनः आह्वान गर्न लगाएको हो । पूर्वाधार विकास कार्यालय पर्साले यो योजनाका लागि पहिलो ठेक्काको सूचना गत माघ २१ गते निकालेको थियो । २० करोड रुपैयाँको यो ठेक्कामा आवेदन दिएका ६ प्रतिस्पर्धीमध्ये कलवारको रन्जन र रोशन जेभीले ३१ प्रतिशत कम लागतको प्रस्ताव गरेको पाइएको थियो । कार्यालय प्रुमख सञ्जयप्रसाद साहले ‘प्रक्रियागत त्रुटी’ भएकाले ठेक्का पुनः आह्वान गर्नु परेको बताए । ‘ठेक्काको प्रक्रियामा त्रुटी भएकाले पहिलाको ठेक्का रद्द गरी फेरि आह्वान गरिएको हो,’ साहले आर्थिक अभियानसित भने । तर, उनले कस्तो त्रुटी भएको हो भन्नेबारेमा खुलाउन चाहेनन् । मन्त्रालयले फाइल अस्वीकृत गरेको उनले बताए । रन्जन÷रोशन जेभीको प्राविधिक र आर्थिक दुवै प्रतिवेदन एकै पटक खोलेर ठेक्का दिने तयारी गरिएको थियो । यो कम्पनीले सबैभन्दा कम रकममा ठेक्का सकारेको स्रोतले बतायो । परेका टेण्डरमध्ये प्राविधिक प्र्रस्ताव खोलेर योग्यको मात्र आर्थिक प्रस्ताव खोल्नु पर्छ । रन्जन÷रोशनको भने नियम मिचेर दुवै प्रस्ताव एकैपटक खोलिएको थियो । पूर्वाधार विकास कार्यालयले प्राविधिक र आर्थिक प्रस्तावमा कलवारको कम्पनी छानिएको प्रतिवेदनसहित स्वीकृतिका लागि मन्त्रालयमा फाइल पठाएको थियो । प्रदेशसभा सदस्यले लगेको योजनाको उनकै कम्पनीलाई दिँदा स्वार्थ बाझिने र अख्तियारसमेत लाग्न सक्ने भन्दै मन्त्रालय पछि हटेको स्रोतले बतायो । गत चैत २५ गते दोस्रो पटक ठेक्का आह्वान गरिएको छ । चैत १७ गते ठेक्का रद्दको सूचना निकालेको थियो । पर्साकै परवानीपुरदेखि पर्सौनीबजारसम्मको ६ किलोमीटर सडकको पनि पुनः सूचना निकालिएको छ । कलवारले निर्माण कम्पनी कर्मचारीको जिम्मा लगाइसकेको बताए । ‘कम्पनीको कामको सबै अधिकार कर्मचारीलाई दिएको छु । अहिले मैले कम्पनी हेर्दिनँ,’ उनले आर्थिक अभियानसित भने । तर, टेण्डर हाल्दा दोहोरो खाम हुनुपर्नेमा एउटामात्र भएकाले रद्द भएको भने उनले स्वीकार गरे । ठेक्कामा प्रतिस्पर्धा गर्न कानूनले कसैलाई नरोकेको तर्क पनि कलवारले गरे । पोखरी सौन्दर्यीकरण पनि रन्जनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अघि सारेको मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गतको १६ करोड रुपैयाँभन्दा बढीको ठेक्कामा पनि रन्जनलाई नै दिइएको छ । वीरगञ्जको नगवा र मुर्ली पोखरीको पुनर्निर्माण र सौन्दर्यीकरणको ठेक्का रन्जन÷प्रेरा जेभीले हात पारेका छन् । २ नम्बर प्रदेश सरकारले सत्तानिकट नेता र व्यक्तिहरूलाई धमाधम यस्ता विकास योजनाहरू सुम्पिइरहेको छ । कलवारले प्रक्रिया पुर्‍याएरै ठेक्का पाएको दाबी गरेका छन् । ‘यसमा मेरो फर्म जोडिएकोमात्र हो । ठेक्का चाहिँ प्रेरालाई परेको छ,’ उनले भने, ‘त्यसमा कुनै मिलेमतो छैन, प्रक्रिया हेर्दा हुन्छ । ’ बजारमा कमैमात्र देखिने पत्रिकामा योजनाको सूचना प्रकाशित गरी गुपचुपमा प्रक्रिया पु¥याइने गरेको बताइन्छ । केही समयअघि प्रदेश सरकारले शीत भण्डार निर्माणको अनुदानमा सहकारी वा समुदायलाई प्राथमिकता दिनुपर्नेमा वीरगञ्जका ३ जना व्यवसायीलाई दिएको भेटिएको थियो । व्यवसायीसँगको मिलेमतोमा करोडौं रुपैयाँ अनुदान दिइएको आरोप लागेको छ । शीत भण्डारमा प्रदेश सरकारले ८० प्रतिशतसम्म अनुदान दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)