वैशाख १५, धनगढी । प्रदेश नं. ५ सरकारले सुदूरपश्चिमवासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले आइतवार गरेको पत्रकार सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई प्रदेश नं. ५ सरकारको तर्फबाट भ्रमणको निम्तो लिएर आएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशवासीमा निमन्त्रणा सन्देश पुर्याउन अनुरोध गरे । ‘सुदूरपश्चिमका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पुर्याउने र लुम्बिनी आएका पर्यटकलाई सुदूरपश्चिमका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको हो’, आचार्यले भने ।
बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी, क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थलहरु गोटिहवा, सगरहवा, कुदान, अरौराकोट, सिसहनिया लगायतका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको संख्या २५ लाख पुर्याउने उद्देश्य सहित प्रदेश नं. ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाई लम्बाउने सोंचका साथ प्रदेश सरकारले प्रवर्द्धानात्मक कार्यक्रम थालेको प्रदेश नं. ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले जानकारी दिए ।
प्रदेश नं. ५ का पहाडी जिल्लामा हिल स्टेसन बनाउने र लुम्बिनी घुमेर सकेपछि ती स्थानमा विश्रामको वातावरण मिलाउने तयारी सरकारको छ । सोही अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताइन् । उनले प्रदेश नं. ५ वासीले सुदूरपश्चिम क्षेत्र र सुदूरपश्चिमवासीले लुम्बिनी भ्रमण गर्ने गरी नीति ल्याउन लागेको बताइन् । पर्यटन अभियन्ता, व्यवसायी र सरोकारवालासँग छलफल गरेर छिटै नै प्रदेश सरकारले पर्यटन नीति ल्याउन लागेको उनले बताइन् । प्रदेश नं. ५ सरकारले गरेका राम्रा कामहरुको अनुशरण गर्दै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय स्थलहरुको प्रवर्द्धनका लागि काम गर्ने मन्त्री भट्टले बताइन् । ‘पहिले प्रदेश घुमौं, त्यसपछि अरु प्रदेशहरु घुमौं, त्यसपछि देशभर घुमौं र अनिमात्रै विदेश घुमौं’, उनले भनिन्,‘यसका लागि सुदुरपश्चिम प्रदेश सरकारले अभियान नै चलाउने छ ।’ सुदूरपश्चिम सुन्दर रहेको भन्दै मन्त्री भट्टले पर्यटन प्रवर्द्धनका लागि सबैका बीचमा समन्वय र सहकार्यको खाँचो रहेको बताइन् । उनले सुदूरपश्चिम सरकारकै तर्फबाट यसैवर्ष लुम्बिनी घुम्न आउने वाचा गर्दै सुदूरपश्चिम प्रदेश घुम्न प्रदेश नं. ५ सरकारलाई निम्तो गरिन् । यस्तै सुदूरपश्चिमका पर्यटन अभियन्ताहरु गोपी हमाल, दिनेश भण्डारी, रमण श्रेष्ठ लगायतले बोल्दै लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई सुदुरपश्चिममा आउनेगरी समन्वय गर्नुपर्ने बताए । उनीहरुले सुदूरपश्चिम क्षेत्र र लुम्बिनी क्षेत्रका पर्यटकीय स्थललाई एकैसाथ प्रवर्द्धन गरेमा प्रभावकारी हुने बताए । लुम्बिनी भ्रमण वर्षको मूल समितिको अध्यक्षमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् भने कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी रहेका छन् । प्रदेश नं. ५ सरकारले भ्रमण वर्ष प्रचार प्रसारका लागि नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष भरत केसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ । भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ । भ्रमण वर्षको कार्यक्रम ०७६ सालको वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रू.४ करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।