स्तरबृद्धिका लागि विमानस्थलमा उडान बन्द गर्ने निर्णय
वैशाख १६, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र नियमित रुपमा सञ्चालित धनगढी विमानस्थल एक महीनाका लागि बन्द गरिने भएको छ । धावनमार्ग मर्मतका लागि सवै उडानहरु बन्द गरिने विमानस्थल कार्यालय धनगढीले जानकारी दिएको छ ।
धनगढी विमानस्थलका अनुसार अहिले धनगढी–काठमाडौं रुटमा नेपाल एयरलाइन्सले हप्ताको दुई दिन तथा बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक दुई/दुई उडान गर्दै आएका छन् । तर एक महीना सम्म उडान बन्द भए धनगढीदेखि नेपालगञ्जसम्म सडक यात्रा गर्दै त्यसपछि मात्रै हवाई यात्रा गर्नुपर्ने बाध्यता हुने बुद्ध एयरलाईन्सका धनगढी ईन्चार्ज बुधराम चौधरीले बताए ।
दैनिक करीव ४०० यात्रुले धनगढी–काठमाण्डौं तथा काठमाडौं–धनगढीको यात्रा गर्दै आएकोमा उक्त सेवा एक महीना बन्द हुँदा पर्यटन व्यवसायी र यात्रीलाई ठुलो सास्ती हुने सम्भावना रहेको पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए । धावनमार्ग निर्माण तथा मर्मतका लागि यसको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीसँग एक महीना लामो हवाई सेवानै वन्द गरेर निर्माण थाल्ने सम्झौता नभएपनि महीना दिन लामो हवाई सेवा वन्द गर्ने निर्णयले यहाँका स्थानीय अचम्मित भएका छन् ।
हवाई सेवा नै वन्द गरेर निर्माण गर्नु राम्रो सन्देश नभएको पर्यटन व्यवसायी भट्टको गुनासो छ । धावनमार्ग अति जीर्ण भइसकेकाले स्तरवृद्धिका लागि वैशाख २२ गतेदेखि जेठ २१ गते सम्मका लागि विमानस्थलमा उडान बन्द गर्ने निर्णय भएको छ । तर अन्य विमानस्थलमा भने सुचारु भएकै अवस्थामा मर्मतको काम जारी रहेकोले धनगढीमा पनि त्यस्तै गर्नुपर्ने माग स्थानीयले राख्दै आएका छन ।