ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : अबको बजेट ३० अर्ब, राजधानी र औद्योगिक क्षेत्र प्राथमिकतामा, चालू आवको खर्च १५%

May 4, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

वैशाख २१, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि रू. ३० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालू आवका लागि रू. २५ अर्ब ६ करोड ५६ लाखको बजेट ल्याएको प्रदेश सरकारले आगामी आवमा करीब रू. ५ अर्ब बजेट बढाउने भएको हो । चालू आवका लागि विनियोजित बजेट खर्च प्रगति वैशाख तेस्रोसातासम्म १५ प्रतिशत मात्रै देखिएको छ ।

प्रदेश सरकारको नीति, बजेट तथा कार्यक्रममा राजधानी गोदावरी र विशेष आर्थिक क्षेत्र (सेज) औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्ने गरी आवश्यक तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जानकारी दिए । मानव विकास सूचकांकको आधारमा बझाङ, बाजुरा, दार्चुला र अछामलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने मन्त्री बोहराले बताए । बजेटका बारेमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया भइरहेको समेत उनले बताए ।

आर्थिक वर्ष २०७४/०७५ को अन्तिम तीन महीनाका लागि विनियोजित रू. १ अर्ब २ करोड ५ लाख र चालू आवको बजेट पहुँचका आधारमा बाँडिएको भन्ने व्यापक गुनासो बढिरहेका बेला आगामी आवको बजेट निश्चित मापदण्डका आधारमा कार्यक्रम समेटिने गरी ल्याउने तयारीमा मन्त्रालय जुटेको मन्त्री बोहराको दाबी छ । उनले यसअघि कैलाली र कञ्चनपुरमा घोषणा भएको विशेष औधोगिक क्षेत्र (सेज) निर्माणका लागि बजेट छुट्ट्याउने तयारी भइरहेको बताए ।

‘अब आउने बजेटमा प्रदेशको राजधानीका लागि पनि बजेट छुट्ट्याइने छ,’ उनले भने । आगामी जेठ १५ गतेभित्र प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रालयको तयारी छ । प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गते बजेट ल्याउने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)