ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : ३ लाख २९ हजार हेक्टरमा मात्रै खेती

May 20, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

जेठ ६, धनगढी । कुल ५ लाख ४७ हजार ९७ हेक्टर खेतीयोग्य जमिन रहेको सुदूरपश्चिम प्रदेशभित्र ३ लाख २९ हजार ९१३ हेक्टरमा मात्रै खेती हुने गरेको पाइएको छ । १९ हजार ५३९ बर्गकिलोमिटर कुल क्षेत्रफल रहेको प्रदेशभित्र २८ प्रतिशत खेतीयोग्य जमिन रहेकोमा कुल खेतीयोग्य जमिनमध्ये ६० दशमलव ३० प्रतिशत भू–भागमा मात्रै कृषकले नियमित खेतीकिसानी गर्दै आएका छन् ।

खाद्य अधिकारका लागि प्रदेशस्तरीय संजाल सुदूरपश्चिम प्रदेशले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ४१ दशमलव २ प्रतिशत जमिनमा मात्रै सिँचाई सुविधा पुगेकाले खेती गर्न सहज भएको तथ्यांक सार्वजनिक गरियो । बाँकी रहेको जमिन आकाशे पानीको भरमा रहेकाले किसान वर्षेनी यो पेशाबाट पलायन हुनेक्रम बढ्दै गएको खाद्य अधिकारको क्षेत्रमा कार्यरत अधिकारीहरुले बताएका छन् ।

कृषि क्षेत्रमा बजेट बढाउन माग गर्दै संजालले प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रालयलाई ज्ञापनपत्रसमेत बुझाएको छ । ८४ प्रतिशत जनता कृषिमा आश्रित रहेको अवस्थामा प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३ दशमलव ४१ प्रतिशत अर्थात् रू. ८५ करोड ५४ लाख ४७ हजार विनियोजन गरेकोमा आगामी आव २०७६/०७७ का लागि १० प्रतिशत पुर्‍याउन माग गरेको छ ।

चालु आवका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट रू. २५ अर्व ६ करोड ५६ लाखमध्ये कृषिमा आश्रित ठुलो जनसंख्यालाई लत्याएर ३ दशमलव ४१ प्रतिशत मात्रै विनियोजन गर्नु संविधानमा खाद्य अधिकारलाई मौलिक अधिकारको रुपमा गरिएको व्यवस्थालाई लत्याएको अनुभूति भएको खाद्य अधिकारका लागि प्रदेशस्तरीय सञ्जाल सुदूरपश्चिम प्रदेशका संयोजक बलबहादुर रोकायाले बताए ।

प्रदेशभित्र कृषिमा आवद्ध किसानका लागि १५ हजार मेट्रिकटन युरिया, डिएपी १५ हजार मेट्रिकटन तथा १ हजार मेट्रिकटन पोटास प्रत्येक वर्ष माग हुँदै आएकोमा ३० प्रतिशत पनि पुर्ति हुन नसकेका कारण कृषकले लागतअनुरुपको उत्पादन प्राप्त गर्न नसकेको अगुवा कृषकहरुको गुनासो छ । कृषिलाई व्यवसायमुखि बनाउन सरकारसँग गतिला कार्यक्रम नभएकै कारण सुदूरपश्चिम प्रदेश कृषि उत्पादनमा सवैभन्दा पछाडी परेको कृषक अगुवा नन्दराज भट्टले आरोप लगाए ।

प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन पञ्चवर्षीय रणनीति तयारीप्रति भने यहाँका कृषक उत्साहित छन् । २५ लाख ५२ हजार ५१७ कुल जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा कैलाली कञ्चनपुरलाई उर्वर भूमिको रुपमा परिभाषित गरिदैं आएपनि कृषिप्रतिको हेपाहा प्रवृत्तिले वर्षेनि खेतीकिसानी गर्ने किसानको संख्या घट्दै गएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)