जेठ ९, धनगढी । धनगढी उपमहानगरपालिकाको दिर्घकालिन शहरी विकास योजना निर्माणका लागि आवश्यक तयारी अघि बढाइएको छ । योजना निर्माणका लागि मस्यौदामाथि छलफल शुरु गरिएको उपमहानगरपालिकाले बताएको छ ।
२५ बर्षिय दिर्घकालिन शहरी विकास योजना निर्माण गरिरहेको धनगढी उपमहानगरपालिकाले सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिगत र अहिलेको अबस्थालाई बिश्लेषण गरेर दिर्घकालिन शहरी विकास योजना निर्माण गरिन लागेको बताए । ‘हामी २५ बर्षको परिकल्पना गरेर दिर्घकालिन योजना निर्माण गर्दैछौं’, नगरप्रमुख वडले भने । ‘हामीले कल्पेको धनगढी कस्तो हो सबैको सुझाव आवश्यक छ’ उनले भने, ‘अहिले बनाउने दिर्घकालिन योजनासँग धनगढी शहर र नगरबासीको भविष्य जोडिने छ ।’
मस्यौदामा छुटेका कुराहरु सुझावका रुपमा दिन नगरबासीसँग उनले आग्रह गरेका थिए । धनगढी उपमहानगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजना मार्फत् सहरको २५ वर्षिय दीर्घकालीन सहरी विकास योजना बनाउने कार्यको थालनी गरेको हो । धनगढीलाई व्यबस्थित, सुन्दर र समुन्नत शहर बनाउनका लागि सरोकारवलाहरुलाई बिभिन्न समुहमा बिभाजन गरेर सुझाव संकलन गर्ने काम भइरहेको धनगढी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख खेमराज पाण्डेले बताए । उनले अहिले बनाएको योजनाले दिर्घकालिन असर पार्ने भएकाले पूर्वाग्रह त्यागेर सबैले सुझाव दिनुपर्ने पनि बताए ।
नगरभित्र नगरबसपार्क, खुल्ला क्षेत्र, पार्क, आकाशेपुल, एकिकृत फोहर ब्यबस्थापन केन्द्र, तरकारी बजार, मनोरञ्जन स्थल, कवडहल, पार्किङ्ग क्षेत्र, बिमानस्थल, पर्यटक सूचना केन्द्र लगायतका क्षेत्रहरु समेत छुट्याइने छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यालय धनगढीका आयोजना प्रमुख सुरेश बाग्लेले धनगढी नगरका समस्या, चुनौती र सम्भावनाहरुको बिश्लेषण गरेर दिर्घकालिन शहरी विकास योजना निर्माण भैरहेको बताए ।
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका चाँडै नै महानगरपालिकामा परिणत हुने निश्चित भएकाले पनि त्यो सोच राखेर दिर्घकालिन शहरी विकास योजना तयार गरिनुपर्ने धारणा सहभागिहरुले राखेका थिए । मस्यौदामाथि सरोकारवालाहरुले राखेका सुझावहरुलाई लिएर दिर्घकालिन शहरी विकास योजनामा समेटिने धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रशाद सापकोटाले बताए । यो छलफल अन्तिम होईन प्रमुख प्रशाकिय सापकोटाले भने, कोर समुहमा फेरि पनि छलफल गरेर सुझाव लिन सकिन्छ ।