ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : जलविद्युतमा सरकारी लगानी शून्य, निजी क्षेत्रको आकर्षण बढ्दो

May 28, 2019  
मुख्य खबर प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

जेठ १४, धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला बझाङ र दार्चुलामा निजी क्षेत्रले ठूलो लगानी गरी जलविद्युत निर्माणको कामलाई तीव्रता दिइरहेको अवस्थामा प्रदेशका १५ स्थानीय तहमा विद्युत पहुँच शून्य देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षणले सुदूरपश्चिमका १५ स्थानीय तहमा विद्युत् पहुँच शून्य देखाएको हो । दार्चुलामा ८ मेगावाट क्षमताको अपर नौगाड साना जलविद्युत आयोजनाको निर्माण अपि पावर कम्पनीले दोस्रो आयोजनाको रुपमा निर्माण गर्दैछ । बझाङमा ३८ दशमलव ४६ मेगावाटको कालंगा जलविद्युत आयोजना, १६ मेगावाटको सानीगाड जलविद्युत आयोजना निर्माण भइरहेको छ । १० मेगावाटको जलविद्युत उत्पादन हुने कालंगाको ड्यामसाईट बक्स कल्भर्टको निर्माण अन्तिम चरणमा पुगेको छ । करीव ६५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको आयोजनाबाट ८० मेगावाट विद्युत उत्पादन गर्न सकिने कालंगा हाइड्रो प्रालिका सञ्चालक खगेश्वर बोहराले बताए । प्रदेशका ४ नगरपालिका र ११ गाउँपालिकामा विद्युत् पहुँच नपुगेको सर्वेक्षणमा उल्लेख छ । विद्युत् पहुँचका हिसाबले सुदूरपश्चिम देशका ५ स्थानीय तहभन्दा पछाडी छ । यो प्रदेशभित्र विद्युत पहुँच ५७ प्रतिशत पुगेको छ ।

२० हजार मेगावाट विद्युत उत्पादन क्षमता देखाइएको यो प्रदेशमा विद्युत उत्पादन शून्य प्रायः छ । प्रदेश सरकारले जलविद्युतको सम्भाव्यता अध्ययन गरिरहेको बताउँदै आएको छ । प्रदेश सरकारले २ देखि ५ मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ । आर्थिक वर्ष २०७४/०७५ को बाँकी तीनमहीनाका लागि प्रस्तुत कुल रू. १ अर्ब २ करोड ५ लाख बजेटबाट रू. ३० लाख सम्भाव्यता अध्ययनमा खर्च गरिएको छ । जलविद्युत उत्पादनका लागि रू. १० करोडको सम्भाव्यता अध्ययन भईरहेको आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिम प्रदेशले बताएको छ । सोका लागि विद्युत विकास बोर्ड गठनमा भएको ढिलाइले विद्युत उत्पादन र निर्माणमा समस्या देखिएको मन्त्रालयको भनाइ छ ।

निजी क्षेत्रको सक्रियतामा दार्चुलामा यसअघि अपिपावर कम्पनीले ८ मेगावाटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिसकेको छ भने दोस्रो ८ मेगावाटको अपर नौगाडको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । उक्त कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण गर्ने तयारी समेत अघि बढाएका बेला प्रदेशमा कुल विद्युत उत्पादन क्षमताको शून्य दशमलव २५ प्रतिशत मात्रै उत्पादन भएको पाइएको छ । प्रदेश सरकारले विद्युत उत्पादनका लागि डडेल्धुराको महाभारतबाट निस्कने शीर्ष गाडको कटाल जाने नहरमा ३ मेगावाट विद्युत् उत्पादनको अध्ययन गरेको छ । सो नहरबाट १ मेगावट विद्युत् उत्पादन गर्न सकिन्छ ।

उक्त नहरको विकास गरेर गाडको सबै पानी सदुपयोग गर्न सके मात्रै ३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ । डोटीको विपीनगरस्थित ठूलीगाडबाट ३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने उल्लेख छ । बैतडीको सुर्नयागाडमा ५४० किलोवाट मात्रै विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदनमा रहेको भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले बताए । हाल प्रदेशभित्र सरकारी स्तरबाट निर्माण सम्पन्न ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको यो नै एकमात्र जलविद्युत आयोजना हो ।

२०७४/०७५ मा चमेलिया र सुर्नयाको सम्भाव्यता अध्ययन खर्च रू. ५/५ लाख र शीर्ष ठूलीगाडका लागि रू. १० लाख छुट्टयाएको थियो । चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययनका लागि रू. १० करोड र लगानी बोर्ड स्थापना गर्न रू. २० करोड विनियोजन गरिएपनि उपलब्ध खासै हुन नसकेको ऊर्जाविद्हरु बताउँछन् । प्रदेश सरकारले २ मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनामा लगानी गर्ने बताएको छ । प्रदेश सरकारले छिट्टै विद्युत विकास बोर्ड गठन गरी बोर्डमार्फत सम्भाव्यता अध्ययन, डीपीआर र एआई, ईआईएलगायत काम अघि बढाउने तयारी गरेको मन्त्री बोहराले बताए ।

बझाङमा निर्माणाधीन १ मेगावाट विद्युत क्षमताको जेउलीगाड सञ्चालनमा आएपछि विद्युत समस्या केही हदसम्म समाधान हुने रंगुनखोला हाइड्रो प्रालिका सञ्चालक वीरेन्द्र मल्ल बताउँछन् । तीन ओटा आयोजनामध्ये कालंगा हाइड्रोमा ३ दशमलव ८ किमी, अपर कालंगामा ८ दशमलव दुई किमी सानी गाडमा २ दशमलव १ किमी सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । सरकारी स्तरबाट शून्य प्रायः लगानी रहेको जलविद्युत विकासमा भने निजी क्षेत्रको आकर्षण पछिल्लो समय बढ्दै गएको सञ्चालक मल्लले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)