जेठ १९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्ययको वार्षिक अंकमा तलमाथि नपरेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उनले राजस्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजस्वमा जाने केही अंक प्राविधिक कारण संघमै देखिएकोे हो, यसलाई सच्याइसकिएको बताए ।
अर्थमन्त्री डा. खतिवडाले भने, ‘उपकरणले जोड्नुपर्ने अंक हातले जोडिएका कारण अनुसूची विवरणमा प्राविधिक त्रुटि देखियो । यसलाई सच्याइएको छ ।’ अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयन गर्न बजेटले उच्च प्राथमिकता दिएको र आन्तरीक ऋण रू.१७२ अर्बभन्दा माथि नजाने स्पष्ट पारे ।यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा. मीनेन्द्र रिजालले अर्थमन्त्रीले आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्ययको वार्षिक अंकको अनुसूचीमा त्रुटि देखिएको भन्दै अर्थमन्त्रीले जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने बताएका थिए । उनले भने, ‘ राजस्वसम्बन्धी बजेटको अनुसूचीको अंक कसरी त्रुटिपूर्ण भयो ? यसलाई सच्याइनुपर्छ ।’ रासस