सुदूरपश्चिमको नीति तथा कार्यक्रम प्रस्तुत : एक जिल्ला एक नमूना शहर
Jun 3, 2019
 
प्रदेश समाचार
सुदूरपश्चिम प्रदेश
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आइतवार सार्वजनिक गरेको छ । प्रदेश सरकारले एक जिल्ला एक नमूना शहरको योजना प्राथमिकता दिएको छ ।
चालू खर्चलाई घटाउँदै पूँजीगत खर्च वृद्धि गर्ने लक्ष्यसहित प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम पेश गरेका हुन् । अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएकोमा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर वृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ ।
प्रदेश सरकारले सामाजिक असमानता हटाउन विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । प्रदेशलाई आउँदो तीन वर्षमा पूर्ण साक्षर घोषणा गर्नेदेखि प्रदेशका नौओटै जिल्लामा मुख्यमन्त्री एकीकृत वस्ती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।
प्रदेश सरकारले एक व्यक्ति एक खाता, मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमअन्तर्गत नमूना कृषि गाउँ आफै बनाऔं, एक घर एक तालीम प्राप्त व्यक्ति, एक स्थानीय तह एक औद्योगिक उत्पादन, एक निर्वाचन क्षेत्र एक खेल मैदान लगायतका महत्त्वाकांक्षी कार्यक्रम समेत ल्याएको छ ।
महाकाली अञ्चल र सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गरिने र फाप्लामा बहुउपयोगी अन्तरराष्ट्रिय खेल मैदान निर्माण गरिने बताइएको छ । बजेट वितरणमा समेत भौगोलिक विकटता र मानव विकास सूचकांकलाई आधार मानिने तथा आर्थिक वृद्धि हुने खालका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
प्रदेशमा व्याप्त महिला हिंसा, छाउपडी प्रथा लगायतका कुरीति निरुत्साहित गर्न विशेष खालका कार्यक्रम सञ्चालन गरिने भनिएको छ भने विपन्न तथा पिछडिएका समुदायलाई सम्बोधन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, निवृत्त खेलाडी कल्याणकारी कोष, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउने तथा भारतमा रोजगारी गर्दै आएकाको बीमा गर्ने योजनासमेत अघि सारिएको छ ।
प्रदेश सरकारले दूरदृष्टि नपुर्याई नीति तथा कार्यक्रम ल्याएको प्रतिपक्षी दल नेपाली कांग्रेसले टिप्पणी गरेको छ । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको टिप्पणी गरे ।