जेठ २१, धनगढी (अस)। कैलालीमा रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समिति भित्र आर्थिक अनियमितता भएको पाइएपछि सुदूरपश्चिम प्रदेशको प्राकृतिक श्रोत साधन समितिले खातापाता रोक्का गर्दा १८ लाखमा विरुवा उत्पादन गर्ने लक्ष्य प्रभावित बनेको छ ।
खातापाता रोक्का गरेको लामो समय वितिसक्दा पनि खाता सञ्चालनका लागि प्रदेश सरकार वन व्यवस्थापन समितिले कुनै पहल नगर्दा वन संरक्षण र व्यवस्थापनको काम अवरोध आएको हो । समस्या समाधानका लागि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्राकृतिक श्रोत साधन समितिलाई पत्र लेखेर पठाएपनि अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको मन्त्रालयका उपसचिव एवं सुचना अधिकारी यज्ञमुर्ति खनालले बताए ।
समितिको निर्देशनपछि नयाँ विरुवा उत्पादनदेखि वनभित्रको झाडी सफा गरेवाफत उपभोक्ताले पाउनुपर्ने रू. ८ लाखसमेत पाउन सकेका छैनन् । वनका पदाधिकारीहरुले आफु अनुकुल काठ कटानी, फडानी, वितरण तथा आर्थिक पारदर्शिता कायम नगरेको पाइएपछि समितिले वनका खातापाता रोक्का गरेको बुझिएको छ ।
काठका लागि १५/१६ सय उपभोक्ताले निवेदन दिएपनि मागअनुरुप काठ पाउन नसकेको स्थानीय उपभोक्ताको गुनासो छ । हाल १ हजार ४०७ हेक्टर वन क्षेत्रमा साझेदारी वन व्यवस्थापन लागु गरिएको छ । वार्षिक करीब २ लाख क्युफिट काठ उत्पादन गर्दै आएको उक्त वन व्यवस्थापन समितिको प्राकृतिक श्रोतसाधन समितिले खातापाता रोक्कादेखि व्यवस्थापनका सवै काममा रोक्का गरेपछि वन संरक्षणको काम चुनौतिपुर्ण बन्दै गएको इलाका वन कार्यालय चौमालाका सहायक वनअधिकृत किशोर धामीले बताए ।
जसले गर्दा यो वर्ष मात्रै १हजार २००हेक्टर क्षेत्रफलमा लागेको डडेंलोका कारण वनभित्र क्षति पुगेको अधिकृत धामीले बताए । विरुवा पुनरउत्पादनवाहेकको क्षेत्रमा आगलागी भएकाले संरक्षणमा समस्या उत्पादन भएको वनसंरक्षणकर्मीको भनाई छ ।
वनभित्र भएको समस्यालाई केलाएर त्यसको समाधान गर्न ढिलाई गर्न नहुने स्थानीय उपभोक्ताको सुझाव छ । वनभित्रको अनियमितता र यसमा संलग्नहरुलाई कारवाही गरेर वनका खातापाता रोक्ने वा फुकाउने विषयमा प्रदेश सरकारले छिटो निकास निकाल्नुपर्नेमा त्यो कार्य अहिलेसम्म हुन नसकेको स्थानीयको गुनासो छ ।