ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय गौरवका आयोजना : १ खर्बभन्दा बढी बजेट

Jun 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०७६/७७ मा राष्ट्रिय गौरवका आयोजनामा सरकारले रू. १ खर्ब ३ अर्ब ८५ करोड खर्च गर्ने भएको छ । ती आयोजनामा चालू आव २०७५/७६ मा करीब रू. ९२ अर्ब विनियोजन भएको थियो । अहिले चालू आवमा भन्दा रू. २६ अर्ब बढी बजेट छुट्याएको छ । राष्ट्रिय गौरवको सूचीमा रहेका १९ ओटा आयोजनाको निर्माणमा उक्त रकम खर्च हुनेछ । अर्थ मन्त्रालयका अनुसार १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजनाका लागि सरकारले आगामी आवका लागि रू. १३ अर्ब ५७ करोड छुट्याएको छ । उक्त रकम आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणमा खर्च हुनेछ । चालू आवमा उक्त आयोजनालाई रू. १७ अर्ब ९९ करोड ९६ लाख बजेट छुट्याइएको थियो । यस्तै, बबई सिँचाइ आयोजनामा आगामी आवका लागि रू. १ अर्ब ४९ करोड ८६ लाख विनियोजन गरिएको छ । चालू आवमा उक्त आयोजनामा रू. १ अर्ब २४ करोड छुट्याइएको थियो । चालू आवमा रू. १ अर्ब ४९ करोड बजेट पाएको सिक्टा सिँचाइ आयोजनालाई आगामी आवमा भने रू. १ अर्ब ५२ करोड छुट्याइएको छ । निर्माणाधीन उक्त आयोजना समस्याग्रस्त सूचीमा परेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाका लागि आगामी आवमा रू. २ अर्ब ४२ करोड विनियोजन गरिएको छ । चालू आवमा उक्त आयोजनाले रू. २ अर्ब १५ करोड पाएको थियो । चालू आव २०७५/७६ मा रू. ६ अर्ब पाएको भेरी बबई डाइभर्सन आयोजनालाई सरकारले आगामी आव २०७६/७७ का लागि रू. ४ अर्ब २० करोड विनियोजन गरेको छ । अन्तिम चरणमा पुगेर अवरुद्ध रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजनालाई सरकारले आगामी आवमा रू. ७ अर्ब ३८ करोड छुट्याएको छ । चालू आवका लागि उक्त आयोजनाको बजेट रू. ७ अर्ब ६ करोड थियो । यस्तै, माथिल्लो तामाकोशी आयोजनाका लागि सरकारले रू. १ अर्ब ८५ करोड विनियोजन गरेको छ । चालू आवमा उक्त आयोजनालाई रू. ५ अर्ब दिइएको थियो । उक्त आयोजना आगामी मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पशुपति क्षेत्र विकास कोषका लागि आगामी आवमा रू. ३५ करोड विनियोजन गरिएको छ । उक्त आयोजनालाई चालू आवमा रू. ३४ करोड ८७ लाख छुट्याइएको थियो । यसैगरी, लुम्बिनी विकास कोषमा आगामी आवमा रू. १ अर्ब विनियोजन भएको छ । चालू आवमा उक्त कोषको बजेट रू. ५७ करोड ७१ लाख छ । यस्तै, दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाका लागि सरकारले आगामी आवमा रू. ३ अर्ब ३३ करोड विनियोजन गरेको छ । चालू आवमा यसका लागि रू. ६ अर्ब ८३ करोड छुट्याइएको थियो । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि चालू आवमा रू. ६ अर्ब ८० करोड दिइएकामा आगामी आवमा बढाएर रू. ८ अर्ब विनियोजन गरिएको छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल आयोजनामा सरकारले आगामी आवका लागि रू. १ अर्ब ५० करोड विनियोजन गरेको छ । चालू आवमा उक्त आयोजनाले रू. १ अर्ब ४३ करोड पाएको थियो । पुष्पलाल राजमार्ग सम्पन्न गर्न सरकारले आगामी आवमा रू. १२ अर्ब १९ करोड विनियोजन गरेको छ । चालू आवमा उक्त राजमार्गलाई रू. ५ अर्ब ५५ करोड दिइएको थियो । काठमाडौं–तराई मधेश फास्ट ट्रयाकका लागि आगामी आवमा रू. १५ अर्ब बजेट छुट्याइएको छ । चालू आवमा उक्त आयोजनामा रू. १५ अर्ब ३९ करोड बजेट थियो । उत्तर–दक्षिण राजमार्गका लागि सरकारले आगामी आवमा रू. ५ अर्ब विनियोजन गरेको छ । चालू आवमा उक्त आयोजनालाई रू. २ अर्ब २ अर्ब ३० करोड छुट्याइएको थियो । रेल, मोनोरेल र मेट्रो रेलका लागि सरकारले आगामी आवमा रू. ७ अर्ब ६९ करोड विनियोजन गरेको छ । चालू आवमा उक्त योजनाले रू. ४ अर्ब ५० करोड पाएको थियो । हुलाकी राजमार्गका लागि सरकारले आगामी आवका लागि रू. १३ अर्ब ६३ करोड छुट्याएको छ, जसमा चालू आवमा रू. ५ अर्ब ५० करोड बजेट छ । आगामी आव २०७६/७७ को बजेटबाट राष्ट्रिय गौरवको सूचीमा परेको सुनसरी मरिन आयोजनाका लागि सरकारले रू. २ अर्ब बजेट विनियोजन गरेको छ । मिलेनियम च्यालेन्ज कर्पाेरेशनको सहयोगमा सञ्चालित सडक र प्रसारणलाइन आयोजनाका लागि सरकारले आगामी आवमा रू. १० अर्ब बजेट विनियोजन गरेको छ । मदन भण्डारी राजमार्गका लागि सरकारले आगामी आवमा रू. ४ अर्ब ८२ करोड छुट्याएको छ । चालू आवमा उक्त आयोजनाका लागि रू. ४ अर्ब ५० करोड विनियोजन गरिएको थियो । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका लागि आगामी आवमा रू. १ अर्ब ७३ करोड विनियोजन गरिएको छ । चालू आवमा यसमा रू. १ अर्ब ६९ करोड विनियोजन गरिएको छ । चालू आव २०७५/७६ मा सरकारले राष्ट्रिय गौरवका आयोजनामा छुट्याएको रकमको जम्मा ३४ दशमलव ५ प्रतिशत मात्र खर्च भएको छ । यसले राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक रहेको देखाउँछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)