जेठ २४, काठमाडौं । पश्चिममा विकास भएको न्यून चापीय प्रणली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीवार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
बिहीवार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली बिस्तारै सर्दै शुक्रवार विहान काठमाडौंसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मौसमविद् बरुण पौडेलले बताए । उक्त प्रणाली विस्तारै मध्य क्षेत्र हुँदै पूर्वतिर सर्दै गइरहेकाले क्षमता कमजोर भई घाम लागेको मौसमविद् पौडेलले जानकारी दिए ।बेलुकापख भने पुनः प्रि–मनसुनको गतिविधि दोहोरी हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मनसुन सक्रिय भएपछि मात्र प्रि–मनसुन कमजोर हुँदै जाने मौसमविद्को भनाइ छ ।
मौसमविद् पौडेलका अनुसार यस वर्ष मनसुन एक साता ढिलो गरी भित्रिने भएको छ । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने गर्छ । हालसम्म यो प्रणाली विकसित नभएकाले मनसुन ढिलो भित्रिने सम्भावना रहेको हो । सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो ।
गत वर्ष जुन ८ मा भित्रिएको थियो । शुक्रवार राति देशको पूर्वी र मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागहरुमा आंशिक बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । रासस