ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाली कञ्चनपुरको उद्योग व्यवसायमा रू.७० करोडको क्षति

Jun 10, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २७, धनगढी(अस) । गत विहीवार साँझ आएको हावाहुरी र वर्षाले कैलाली कञ्चनपुरमा सञ्चालित उद्योग व्यवसायमा झण्डै रू. ७० करोडको क्षति पुगेको निजी क्षेत्रले बताएको छ । धनगढीको चटकपुरमा रहेको पश्चिमाञ्चल हार्डवेयरमा हावाहुरी र वर्षाले २ हजार सिमेन्टका बोरामा पुर्ण क्षति पुर्‍याएको सञ्चालक अनुप भण्डारीले बताए ।

कैलालीको गोदावरी नगरपालिका–१ भरतपुरमा रहेको चाइनिज इँटा उद्योगमा ठुलो क्षति पुगेको सञ्चालक तीर्थ ओझाले बताए । आफ्नो इँटा उद्योगमा रू.१ करोडको क्षति भएको उनले गुनासो गरे । सवैभन्दा बढि उद्योग व्यवसाय भएको कैलालीमा करीब रू. ५० करोडको क्षति भएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।

त्यस्तै कञ्चनपुरमा पनि उद्योग व्यवसायमा हावाहुरीपछि आएको वर्षाले ठुलो क्षति पुर्‍याएको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले बताए । कञ्चनपुरमा ८० प्रतिशत केराखेती नष्ट भएको उनको भनाई छ । जिल्लामा उद्योग र व्यवसायीक क्षेत्रमा गरी करीब रू. ३० करोडको क्षति भएको बताइएको छ । कैलाली र कञ्चनपुरमा गरी पोल्ट्री व्यवसायीमा करीब रू. १५ करोड वरावरको क्षति भएको नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य विवेक भट्टले बताए ।

भीएच ह्याचरी उद्योग धनगढीका प्रवन्ध निर्देशक समेत रहेका भट्टले आफ्नो उद्योगमा मात्रै रू.२ करोड ५० लाखको क्षति भएको गुनासो पोखे । हावाहुरीका कारण कुखुरा, कुखुराका चल्ला, दाना र कञ्चा पदार्थ पुर्ण रुपमा नष्ट भएको पोल्टी व्यवसायीहरुको गुनासो छ ।

१ हजार ३०० ओटा विद्युत पोलमा क्षति

बिहीवार आएको हावाहुरीका कारण विद्युत् सेवा बन्द हुँदा स्थानीय प्रभावित भएका छन् । कैलाली कञ्चनपुरमा अवरुद्ध विद्युत सेवा सुचारु गर्न ७५ प्रतिशत मर्मत भइसकेको विद्युत प्राधिकरणले बताएको छ । प्राधिकरणको सुदूरपश्चिम क्षेत्रीय कार्यालयका अनुसार चार दिनमा ७५ प्रतिशत मर्मतको काम सम्पन्न भएको छ ।

प्राधिकरणका सुदूरपश्चिम प्रमुख सतिश कर्णले पहाडी जिल्लामा सबै क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको बताए । धनगढीको चटकपुर आसपासको क्षेत्रमा विद्युत सेवा सुचारु हुन समय लाग्ने धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्रकुमार यादवले बताए ।

प्राधिकरणको सुदूरपश्चिम क्षेत्रीय कार्यालयका अनुसार ग्रामीण भेगमा अवरुद्ध विद्युत् सेवा सुचारु गर्न अझै १० दिन लाग्ने बताएको छ । कैलाली र कञ्चनपुरमा विनासकारी हावाहुरीले १ हजार ३०० ओटा विद्युत् पोल र १५ ओटा ट्रान्सफरमरमा क्षति पुगेको थियो ।

ज्यान गुमाएका परिवारलाई रू.१ लाख ५० हजार

सुदूरपश्चिम प्रदेश सरकारले बिहीवार राति आएको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई रू.१ लाख ५० हजार राहत दिने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रीपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री प्रकाश शाहले बताए । यस्तै हावाहुरीले घरमा पुर्ण क्षति पुगेका परिवारलाई क्षतीपूर्ति स्वरुप रू.२० हजारका दरले राहत वितरण गर्ने तथा आशिंक क्षति भएका परिवारलाई रू.१० हजार राहत स्वरुप दिने निर्णय भएको उनले बताए ।

त्यस्तै पशुपंक्षी, कृषि लगायतका अन्य क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर सम्वन्धित् मन्त्रालयले राहत वितरण गर्ने निर्णय भएको छ भने विभिन्न संघसंस्थाबाट आउने राहत मुख्यमन्त्री राहत कोष मार्फत वितरण गर्ने निर्णय पनि गरिएको छ । बिहीवार कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले दुई जनाको मृत्यु भएको थियो भने सयौं घरमा क्षति पुगेको थियो ।

राहत नपाएको गुनासो

हावाहुरीबाट पीडितहरुले यतिका समयसम्म राज्यको महसुस गर्न नपाएको गुनासो गरेका छन् । धनगढी क्षेत्रका पीडितले हावाहुरी चलेको पाँच दिन भइसक्दा पनि राहतको नाममा त्रिपालसमेत नपाएको बताउका छन् ।

हावाहुरीले सबै भन्दा बढी प्रभावित वनेको क्षेत्र धनगढी र अत्तरिया हो । हावाहुरीबाट कैलालीमा मात्रै ७ हजार भन्दा बढि परिवार घरवार विहिन बनेका छन् भने २ हजार भन्दा बढि घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय कैलालीको प्रारम्भिक तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)