कैलाली–कञ्चनपुरमा हावाहुरीको असर : औद्योगिक क्षेत्रमा ७० करोडको क्षति
Jun 11, 2019
 
प्रदेश समाचार
सुदूरपश्चिम प्रदेश
धनगढी । गत बिहीवार साँझ आएको हावाहुरी र वर्षाले कैलाली र कञ्चनपुरमा सञ्चालित उद्योग तथा व्यवसायमा झण्डै ७० करोड रुपैयाँ बराबरको क्षति पुगेको निजी क्षेत्रले बताएको छ । कैलालीमा करीब ५० करोडको क्षति भएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकका अनुसार कञ्चनपुरको उद्योग व्यवसायमा हावाहुरीपछि आएको वर्षाले ठूलो क्षति पु¥याएको छ । कञ्चनपुरमा ८० प्रतिशत केराखेती नष्ट भएको उनले बताए । कैलाली र कञ्चनपुरमा गरी पोल्ट्री व्यवसायीमा करीब १५ करोड मूल्यबराबरको क्षति भएको नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य विवेक भट्टले जानकारी दिए ।
भीएच ह्याचरी उद्योग धनगढीका प्रबन्ध निर्देशक समेत रहेका भट्टले आफ्नो उद्योगमा मात्रै २ करोड ५० लाखको क्षति भएको गुनासो पोखे । हावाहुरीका कारण कुखुरा, चल्ला, दाना र कच्चा पदार्थ पूर्ण रूपमा नष्ट भएको पोल्टी व्यवसायीहरूले बताएका छन् ।
हावाहुरीले औद्योगिक क्षेत्रमा क्षति पुगेपछि राहत वितरणका लागि नेपाल उद्योग वाणिज्य महासंघलाई पत्राचार गरेको प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पाठकले जानकारी गराए । कैलाली उद्योग वाणिज्य संघले आवश्यक सहयोगका लागि तयारी गरिरहेको बताएको छ ।
१३ सय विद्युत् पोलमा क्षति
हावाहुरीले १३ सय विद्युत् पोल र १५ ओटा ट्रान्सफर्मरमा क्षति पुगेको छ । कैलाली र कञ्चनपुरमा अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि ७५ प्रतिशत मर्मत भइसकेको नेपाल विद्युत् प्राधिकरणको सुदूरपश्चिम क्षेत्रीय कार्यालयका प्रमुख सतीश कर्णले जानकारी दिए ।
उनका अनुसार प्रदेशका पहाडी जिल्लाहरूमा विद्युत् सेवा पुनः शुरू भइसकेको छ । धनगढीको चटकपुर आसपासको क्षेत्रमा भने विद्युत् सेवा शुरू हुन समय लाग्ने धनगढी वितरण केन्द्रका प्रमुख धीरेन्द्रकुमार यादवले बताए । कार्यालयका अनुसार ग्रामीण भेगमा अवरुद्ध विद्युत् सेवा शुरू गर्न अझै १० दिन लाग्नेछ ।
ज्यान गुमाएका परिवारलाई डेढ लाख
प्रदेश सरकारको आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहत दिने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं कानूनमन्त्री प्रकाश शाहले हावाहुरीले घर पूर्ण क्षति भएकालाई २० हजार र आशिंक क्षति भएका परिवारलाई १० हजार दिने निर्णय भएको जानकारी दिए ।
पशुपक्षी र कृषि लगायतका अन्य क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धित मन्त्रालयले राहत वितरण गर्ने निर्णय भएको छ । हावाहुरीबाट पीडितहरूले क्षति भएको ५ दिनसम्म पनि राज्यबाट राहत नपाएको गुनासो गरेका छन् । गत बिहीवारदेखि खुला आकाशमुनिको वास भए पनि कसैको ध्यान नपुगेको पीडितको गुनासो छ ।