जेठ २८, महेन्द्रनगर(अस) । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित छेला औद्योगिक क्षेत्रको काम अगाडी बढाउन स्थानीय सहमत भएका छन् । मंगलवार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडी बढाउन सहमती जनाएका हुन् ।
वर्षौं अघिको सपना पुरा हुन लागेकोमा स्थानीय हर्षित छन् । वि.सं.२०५१ सालमा छेला औद्योगिक क्षेत्रका स्थापना गरिएको थियो । सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीय बिरेन्द्र भट्टले सुदूरपश्चिमकै गौरवको रुपमा रहेको छेला औद्योगिक क्षेत्र प्रदेशकै समृद्धिसँग जोडिएकाले यसको तत्काल कार्य शुरु गर्नुपर्ने बताए ।
त्यस्तै अर्का स्थानीय सागर सुनारले छेला औद्योगिक क्षेत्र बन्न लागेकोमा खुसि व्यक्त गर्दै यसलाई तत्काल सञचालनमा माग गरे भने महादेव भट्टले पनि औद्योगिक क्षेत्र तत्काल सञ्चालन गरि उद्योगमा स्थानीयलाई प्राथमीकता दिनु पर्ने बताए । उनले उद्योगलाई आवश्यक जनशक्ति व्यवस्थापन बाह्य नभई आन्तरिक स्रोत साधनबाट परिचालन गर्न पनि सुझाव दिए ।
उद्योगबाट उत्पन्न हुने कार्बन लगायत हानिकारक ग्यास र फोहरमैला व्यवस्थापनका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिनु पर्ने स्थानीय बिमल सिंहको भनाइ छ । कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दल, संघ संस्था लगायत सरोकारवाला निकायको सहभागीता थियो ।
दैजी राष्ट्रकै गौरवको योजना हो : सांसद धामी
दैजी औद्योगिक क्षेत्र राष्ट्रकै गौरवको आयोजना रहेको सांसद नर बहादुर धामीले बताए । सार्वजनिक सुनवाई कार्यक्रमा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद धामीले यस्तो बताएका हुन् ।
दैजी औद्योगिक क्षेत्र प्रदेशकै समृद्धिसँग जोडिएको छ : राज्यमन्त्री रावल
सुदूरपश्चिम प्रदेशका उद्योग वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकास रावलले दैजी औद्योगिक क्षेत्र प्रदेशकै समृद्धिसँग जोडीको बताए । उनले प्रदेशको एक मात्रै औद्योगिक क्षेत्रका रुपमा रहेकाले यसले सुदूरपश्चिमकै समृद्धिलाई जोड्ने बताए ।
सबै सकारात्मक छन् :मेयर चन्द
बेदकोट नगरपालिकामा स्थापना हुन लागेको देजी औद्योगिक क्षेत्र सञ्चालनका लागि सरोकारवाला सबै निकाय सकारात्मक रहेको बेदकोट नगरप्रमुख अशोक कुमार चन्दले बताए । औद्योगिक क्षेत्रको डिपीआर तयार भइरहेको उल्लेख गर्दै नगर प्रमुख चन्दले उक्त क्षेत्रमा सबै खाले भौतिक पुर्वाधारको निर्माण गरिने बताए ।
त्यस्तै औद्योगिक क्षेत्र बालाजुका महाप्रबन्धक सुवास सिटौलाले औद्योगिक क्षेत्र सञ्चालनका लागि स्थानीय लगायत सरोकारवाला सकारात्मक देखिएको बताए । दैजी औद्योगिक क्षेत्रको तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य छ । करीब ९०० बिघा जमिन आवश्यक पर्नेे औद्योगिक क्षेत्रका लागि हाल २९३ विघा दैजीको औद्योगिक क्षेत्रको नाममा छ ।