ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजारको खोजीमा बेल रस उद्योग

Jun 12, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २९, लम्की(कैलाली) । बजार नपाएपछि कैलालीको भजनी नगरपालिका–१ स्थित बेलको जुस उद्योग संकटमा परेको छ । वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले वि.सं.२०७१ मा सञ्चालनमा ल्याएको सो उद्योगले उत्पादन गरेको बेलको रस विक्री हुन छोडेको छ ।

दुई वर्षअघिसम्म काठमाडौंका ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा समेत उपलब्ध हुने बेल रस यतिबेला भने स्थानीय बजारमा समेत विक्री हुन छोडेको हो । बेल रसले केही वर्ष नेपालगञ्ज, धनगढी, कोहलपुरका साथै भजनी आसपासका टीकापुर, लम्की, सुखड लगायतका स्थानीय बजारमासमेत राम्रो व्यापार गरेको थियो । उपभोक्ताले स्वदेशी उत्पादनभन्दा बाह्य कुरालाई उपभोग गर्ने गरेका कारण बेल रसको बजार खुम्चिएको हो ।

वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर शाहले उपभोक्ताले बेल रसको महत्व नबुझेका कारण पनि यसको विक्री हुन नसकेको बताए । ‘धेरैले बेल रसको महत्व नै बुझेका छैनन्’, उनले भने, ‘जब महत्व नै बुझेनन् भने बजारमा विक्री हुने कुरै भएन ।’ अचेल औषधिका रुपमा प्रयोग गर्ने केही सीमित व्यक्तिहरुले मात्रै बेल रस उपभोग गर्दै आएका छन् । उनीहरु उद्योगमै पुगेर आवश्यकताअनुसार खरीद गरेर लैजान्छन् । बेल रस मधुमेह र मुटु रोगीका लागि निकै उपयोगी छ ।

यसले पखाला, आउँ, ग्याष्ट्रिक, कब्जियत हुनबाट समेत बचाउनुका साथै रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । बेल रस सेवनले गर्मीयाममा शीतलतासमेत प्रदान गर्ने अध्यक्ष शाह बताउँछन् । संस्थाका अनुसार गत वर्षदेखि बेल रसको बजार ठप्प भएको हो । गत वर्ष उत्पादन भएको झण्डै एक हजार लिटर बेल रस विक्री हुन नसकेर गोदाममै थन्किएको छ । उद्योगले एक वर्षमा करीब ५ हजार लिटर उत्पादन गर्छ । ‘गत वर्षको उत्पादन त्यसै फाल्नुपर्ने अवस्था आएको छ’, अध्यक्ष शाहले भने, ‘सोचेअनुसार बजार फैलिनुको साटो खुम्चिदै गएको छ ।’

बजारमा माग हुन छोडेपछि उद्योगले विक्रीका लागि कुनै योजना अघि सारेको छैन । शुरुमै राम्रो बजार पाएको बेल रस विक्री हुन छोडेपछि उद्योगले समेत लापरवाही गर्न थालेको छ । उसले बजार विस्तारका कुनै योजना नै बनाएको छैन । एकजना व्यक्तिले उद्योगको रेखदेख गरिरहेका छन् । ‘शुरुमा खुब प्रचार गर्‍यौं थोरै बजार विस्तार भएको थियो’, अध्यक्ष शाहले भने, ‘पछिल्ला वर्षहरुमा त्यसतर्फ ध्यान दिन सकेका छैनौं ।’ उद्योगमा ४० सामुदायिक वन आबद्ध छन् । जसअन्तरगत १ हजार ८०० शेयर सदस्य छन् । उनीहरुले नै जंगलबाट काँचो बेल टिपेर ल्याउँछन् । स्थानीयले टिपेर ल्याएको काँचो बेल उद्योगले सात रुपैयाँ प्रति केजीमा खरीद गर्छ ।

काँचो बेल एक/दुई दिन राखेर उद्योगले ग्रेडिङ गर्छ । सो उद्योगले एक दिनमा पाँच क्विन्टल काँचो बेल पेल्छ । जसबाट २०० केजी लेदो उत्पादन हुन्छ ।उद्योगले लेदोलाई प्रशोधन गरेर बेल रस उत्पादन गर्छ । लेदोलाई प्रशोधन गरेर उत्पादन भएको बेल रस बोत्तलमा प्याक गरेर उत्पादन मितिसहित बजारमा पठाउने गरेको निमित्त कार्यालय प्रमुख सुधराम चौधरीले जानकारी दिए । चौधरीका अनुसार बेल रस खुद्रामा प्रतिबोत्तल रू.१२० मा पाइन्छ । उनले पूरै पेटी खरीद गरेमा प्रतिबोत्तल रू.१०० मात्रै पर्न जाने बताए ।

एक भाग बेल रसमा तीन भाग पानी मिसाएर पिउन सकिन्छ । यसरी स्थानीय सामुदायिक वनमै पाइने बेलबाट उत्पादन गर्न सकिने जुस उद्योगबाट उत्पादित जुस व्यवस्थापनमा ध्यान दिन सके उपभोक्तालाई पनि रोजगारी पाउने वातावरण बन्ने स्थानीयवासीको दाबी छ । जुसले बजार नपाएपछि बेल टिप्ने कार्यमा खटेका उपभोक्तासमेत बेरोजगार छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)