असार १, दार्चुला । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द भएको छ । नेपाल–भारत जोड्ने झोलुंगे पुल असार १ गतेदेखि ४ गतेसम्मका लागि बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।
भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो । नेपाल–भारत जोड्ने खलंगास्थित झोलुंगे पुल जीर्ण बन्दै गएकाले मर्मतकार्य सञ्चालन भएको अवधिभर पुल बन्दको व्यवस्था मिलाइदिन उपखण्ड लोक निर्माण विभाग धार्चुलाले अनुरोध गरेको थियो । यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गतेदेखि १३ गतेसम्म मर्मतकार्य गर्ने बताए पनि अन्तमा भारतीय पक्षले मर्मतकार्य भने गरेको थिएन ।
वि.सं. २०२८ तिर निर्माण गरिएको उक्त झोलुंगे पुलको प्लेट जीर्ण बन्दै गएकाले फेर्नेलगायतका मर्मतकार्य गरिने बताइएको छ । भारतीय पक्षद्वारा निर्माण गरिएको उक्त झोलुंगे पुलको हरेक तीन वर्षमा मर्मतकार्य गरिंदै आएको छ । सोहीअनुसार भारतीय पक्षले नेपाल–भारत जोड्ने झोलुंगे पुलको मर्मत गर्न लागेको हो । भारतीय बजारमा निर्भर स्थानीय नेपाली झोलुंगे पुल बन्द हुँदा समस्यामा पर्ने गर्छन् । रासस