असार १, काठमाडौं । प्रतिनिधिसभाको आइतवारको बैठकमा सांसदहरुले गुठीका सम्बन्धमा आएको पछिल्लो विधेयकले समस्या समाधान गर्ने नभई थप बल्झाउने टिप्पणी गरेका छन् । ‘विनियोजन विधेयक २०७६’ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय विभिन्न शीर्षकअन्तर्गतका शीर्षकमाथि छलफलमा भाग लिँदै सांसदहरुले गुठी नेपालको संस्कृति र परम्परासँग जोडिएकाले त्यसलाई खण्डित नगर्न आग्रह गरे । सर्वपक्षीय छलफलका आधारमा सरोकार भएका व्यक्ति, संस्था वा निकायलाई सहमतिमा ल्याएर मात्रै गुठी विधेयक ल्याउनुपर्ने उनीहरुको जोड थियो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले गुठीसम्बन्धी विधेयकमा देखिएको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण पनि गराए । काँग्रेसकै सांसद गगन थापाले अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि बजेट कम भएको भन्दै गुनासो गरे । उनले काठमाडौं उपत्यकाका लागि गुठी रैथाने सभ्यताको पहिचान भएकाले त्यसलाई जोगाउनुपर्ने बताए ।
कतिपय गुठी सामन्ती संरचनाका कारण पनि बनेका भए पनि नेवारी समाजलाई एकीकृत बनाउने काम गुठीले गरेको उनले उल्लेख गरे । ‘गुठीका विषयमा देखिएको समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्छ । त्यसका लागि सर्वपक्षीय छलफलको जरुरी छ’, उनले भने । सांसद राजेन्द्र केसीले गुठी नेपालको मौलिक संस्कृति भएकाले यसलाई कोही कसैले पनि मास्न नपाइने भन्दै सरकारले धर्म संस्कृितमाथि हस्तक्षेप गरेको आरोप लगाए ।
जनतालाई भ्रम नछर्न आग्रह गुठी विधेयकको विषयलाई लिएर अनावश्यक भ्रम छरिएको भन्दै नेकपाका सांसद मेटमणि चौधरीले आपत्ति जनाए । ‘विगतमा कम्युनिस्ट सरकारमा आए भने ६० वर्ष पुगेकालाई छानी छानी मार्छन् भनेर भ्रम फैलाइएको थियो । यतिखेर पनि त्यस्तै भ्रम छरिएको छ । त्यो सर्वथा गलत छ’, उनले भने ।
उनले नेपालको भौगोलिक क्षेत्रको पुनःनाप जाँच गर्न माग गर्दै आफ्नो जिल्लामा पनि ठूलोमात्रामा जग्गा गुठीको नाममा रहेको भन्दै विगतमा जनताबाट लिएको जग्गा जनतालाई फिर्ता गर्नुपर्ने बताए । रासस