असार १, धनगढी । आगामी आर्थिक वर्ष (आव) २०७६/०७७ का लागि सुदूरपश्चिम प्रदेशले रू. २८ अर्ब १६ करोडको बजेट सार्वजनिक गरेको छ । चालू आवका लागि रू. २५ अर्ब ६ करोड ५६ लाख बजेट विनियोजन गरेको सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि झण्डै रू. ३ अर्ब बढी बजेट ल्याएको हो ।
आइतवार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले पूँजीगत खर्चतर्फ रू. १३ अर्ब ६ करोड ४६ लाख तथा चालू खर्चतर्फ रू. १२ अर्ब ५७ करोड २६ लाख छुट्याएको छ ।
‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष’ अन्तर्गत ३२ ओटा निर्वाचन क्षेत्रलाई रू. ३ करोडका दरले कुल रू. ९६ करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री बोहराले घोषणा गरे । चालू आवका लागि प्रतिनिर्वाचन क्षेत्र रू. २ करोडका दरले रू. ६४ करोड विनियोजन गरिएको थियो ।
मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाऊँ आफैं बनाऊँ’ भन्ने नारासहित प्रत्येक स्थानीय तहलाई रू. ५० लाखका दरले रू. ४४ करोड बजेट विनियोजन गरिएको छ । आगामी बजेटमा ‘एक स्थानीय तह एक औद्योगिक उत्पादन’ कार्यक्रम अन्तर्गत रू. ३ करोड, प्रदेशका विभिन्न जिल्लाभित्र गरी सडक करिडोरका लागि रू. १३ करोड, प्रदेश सेवा यातायात कार्यक्रमका लागि रू. १३ करोड तथा गोदावरी (अत्तरिया) प्रदेश राजधानीका लागि आवश्यक बजेटको व्यवस्था गरिएको आर्थिक मामिला तथा योजनामन्त्री बोहराले बताए ।
प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, ऊर्जा, तटबन्धलगायत पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीको निर्धारणअनुरूप ती स्रोतमा आधारित भएर आगामी बजेट प्रस्तुत गरेको मन्त्री बोहराले बताए । प्रदेशको आन्तरिक राजस्व र आन्तरिक ऋणलाई समेत आधार मानेर बजेट निर्माण गरिएको उनको भनाइ छ ।