असार २, दोलखा (अस) । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतवार सफलतापूर्वक पाइप जडान भएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङ र प्राधिकरणका संचालकद्धय चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न शुरु गरिएको हो । तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो ।
तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टकमा सोमवार अर्को पाइप राखिएको हो । अब त्यसलाई मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कंक्रिट गरिने आयोजनाले बताएको छ । त्यसपछि अर्को पाइप जडान शुरु हुने छ । तल्लो पेनस्टक साफ्टमा ३७२ मिटरमा ७४ ओटा पेनस्टक पाइप जडान गर्नुपर्ने छ । पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौलता हटेको कार्यकारी निर्देशक घिसिङले बताए ।
‘पेनस्टक पाइप जडान ज्यादै गाह्रो थियो, यस अघि जडान शुरु गर्दा क्रेनको डोरी नै चुंडिएको थियो, त्यसपछि क्रेनले काम गर्ने/ नगर्ने लगायतका अन्यौल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्यौता हट्दै आयोजना सम्पन्न हुने दिशातर्फ अगाडि बढेको छ,’ उनले भने ।
‘पहिलो युनिटबाट (७६ मेगावाट) पुसभित्रमा उत्पादन गर्ने लक्ष्य राखेका छौं, यसमा केही तलमाथि हुनसक्ला तर आयोजना आर्थिक वर्ष २०७६/७७ भित्रै निर्माण सम्पन्न हुने छ’, उनले भने, ‘क्रेनले छ मिटर प्रतिमिनेटका दरले पाइप झार्ने हुँदा अब कामले गति लिने छ ।’ पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ । लामाबगरमा रहेको बाँधमा फिनिसिङको सानातिना काम भइरहेको छ । सुरुङ,प्रसारण लाइन निर्माणको काम समानान्तर रुपमा अगाडि बढिरहेको छ । सबै संरचनाहरु निर्माणको अन्तिम चरणमा छन् ।
वि.सं.२०७२ को विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको थियो । आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो ।
भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/७६को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर, लट २को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ (३१ डिसेम्बर २०१९) भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समय तालिका तय गरी काम भइरहेको छ । त्यसपछि हरेक महिनाको फरकमा बाँकी पाँच युनिटबाट विद्युत् उत्पादन गरिने छ ।
र यो पनि पढ्नुहोस आगामी चैतभित्र निर्माण सम्पन्न नभए माथिल्लो तामाकोशीको लागत ७३ अर्ब पुग्ने