असार २, काठमाडौं (अस) । लोक सेवा आयोगले हालै निकालेको विज्ञापन रोक लगाउन माग गर्दै सोमवार स्थानीय तहका १२१ जना कर्मचारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । स्थानीय तहमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुद्वारा दायर गरिएको रिट निवेदनमा आफूहरुले पुर्याएको योगदानको उपेक्षा गर्दै आयोगले विज्ञापन निकालेको दावी गरिएको छ ।
आयोगले गत जेठ १५ गते ९ हजार भन्दा बढी पदमा कर्मचारी भर्ना गर्न विज्ञापन गरेको थियो । यस अघि पनि जेठको अन्तिम साता यस्तै प्रकृतिको अर्को रिट निवेदन दायर भएको थियो ।सो रिट निवेदनमा अन्तरिम आदेशबाट विज्ञापन रोक लगाउने वा नलगाउने भन्ने विषयमा असार तीन गते सरकार र रिट निवेदक पक्षलाई छलफलमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको छ ।
यस्तै यही असार एक गते राज्य व्यवस्था समितिले आयोगले गरेको विज्ञापन रोक लगाउने अधिकार नभएको उल्लेख गर्दै रिट निवेदन दायर भएको थियो ।