असार ५,लम्की (कैलाली) वित्तीय साक्षरता कक्षापछि कैलालीको टीकापुर–३ का महिला आयआर्जनका कार्यमा लागेका छन् । कैलालीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाको साक्षरता कक्षा पछि वैदेशिक रोजगारीमा रहेका परिवारका महिलालाई विदेशबाट आएको रकम बचत गरेका छन् भने महिलाले फजुल खर्च पनि घटाउन थालेका छन् ।
उनीहरुले साक्षरता कक्षामा सहभागी भएपछि रकमको महत्व बुझेको र खर्च र आम्दानीको हिसाब किताब राख्न थालेको बताएका हुन् । टीकापुरकी उर्मिला चौधरीले कक्षामा सहभागी भएपछि रकमको महत्व बुझेको बताइन् । ‘श्रीमानको कमाइ बचत गर्नुका साथै म पनि व्यवसाय गर्न थालेकी छु’, चौधरीले भनिन्, ‘श्रीमान् तीन वर्ष विदेश बसेर फर्केका छन्, मैले पनि व्यावसायिक रुपमा बाख्रा र बंगुर पालन शुरु गरेकी छु ।’
टीकापुर–३ कै रमिता चौधरीले पनि साक्षरता कक्षापछि हिसाबकिताब राख्न सिकेको बताइन् । ‘हिसाबकिताब राखेपछि परिवारमा द्वन्द्व पनि घटेको छ’, रमिताले भनिन्, ‘यसले फजुल खर्च पनि नियन्त्रणमा सघाउँदो रहेछ ।’ श्रीमान् वैदेशिक रोजगारीमा रहेकी अमिसा चौधरीले पनि श्रीमान् विदेश जाँदा बनाइएका महत्वपूर्ण कागजातको फोटोकपी मगाएको बताइन् । चौधरीले विदेश जाँदा अपनाउनुपर्ने सावधानी, विदेशको कमाइको बचत गर्ने तरिका, हिसाबकिताब राख्ने तरिका र आयआर्जनका कार्यमा लाग्न प्रेरणा मिलेको बताइन् ।
‘श्रीमान् विदेश जाँदाका कागजात घरमा थिएनन्, हाल विदेशबाट मगाएकी छु”, अमिसाले भनिन्, ‘म कानूनी प्रक्रियाबारे पनि सचेत भएकी छु ।’ टीकापुरकी मञ्जु विकले साक्षरता कक्षामा पैसाको महत्व बुझेपछि छोराछोरीमाथि हुने फजुल खर्च घटाएको बताइन् । उनले छोराछोरीलाई पसलको खानेकुरा नास्ताका रुपमा दिने, तरकारी किनेर खान छोडेको बताउँदै तरकारी खेती शुरु गरेको बताइन् । महिलाले फजुल खर्च महँगो मोबाइलजस्ता सामग्रीसमेत बोक्न नहुनेमा सचेत भएको बताएका छन् ।
विदेशमा बस्ने परिवारका सदस्यले मोबाइलजस्ता अनावश्यक क्षेत्रमा बढी खर्च गर्ने कार्य गलत रहेछ भन्ने बुझेको महिला बताउँछन् । टीकापुर–३ का वडाध्यक्ष रामसेवक महतोले विदेश गएका परिवारका सदस्य र महिलामा आएको परिवर्तन देख्दा खुशी लागेको बताए । ‘महिलामा बचत गर्ने बानीको विकास र आयआर्जनका कार्यमा लाग्नु सकारात्मक सन्देश हो’, वडाध्यक्ष महतोले भने, ‘महिलाले सम्भाव्यता खोजी व्यवसायका लागि वडामा आएमा वडाले सघाउँछ ।’ रासस