असार ७, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा रू. १० लाख ७१ हजार मूल्य बराबरको सामग्री शनिवार बिहान बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले दुई ओटा बस जाँच गर्दा भन्सार छलेर ल्याएको पाँच बोरा सामान बरामद गरेको जानकारी दिए । ‘सामानको बिल र धनी नभएकाले हामीले सामानलाई बरामद गरेका हौं’, उनले भने ।
प्रहरीले १ हजार ४१८ थान विभिन्न रङको कुर्ता तथा टप्स, पुरुषले लगाउने कमेज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद गरेको हो । वृत्तको टोलीले आवश्यक कारबाहीका लागि सामानलाई राजस्व अनुसन्धान विभाग पठाएको छ । रासस