यातायात कार्यालयले गर्यो रू. ३७ करोड राजस्व संकलन
Jun 22, 2019
 
प्रदेश समाचार
सुदूरपश्चिम प्रदेश
असार ७, कैलाली । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म रू.३७ करोड राजस्व संकलन गरेको छ ।
कार्यालयले सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजस्व शीर्षकबाट रू. ३७ करोड १६ लाख २९ हजार २४२ राजस्व संकलन गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख गम्भीरसिंह विष्टले जानकारी दिए ।
निमित्त प्रमुख विष्टले अघिल्लो आव २०७४/७५ मा उठेको राजस्व बराबरको रकम चालू आव सकिनुभन्दा एक महीना अगाबै संकलन भएको उल्लेख गरे । अघिल्लो आवमा कार्यालयले रू. ३७ करोड ३८ लाख ३२ हजार ४८० राजस्व संकलन गरेको थियो । त्यसैगरी आव २०७४/७५ को साउन महीनादेखि स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको कार्यालयले हालसम्म १३ हजारलाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।
प्रमुख विष्टले हालसम्म स्मार्ट लाइसेन्सका लागि करीब रू. २९ हजार ५८२ जनाले आवेदन दिएको र तीमध्ये १३ हजार २४४ जनालाई लाइसेन्स वितरण गरिएको बताए । यातायात व्यवस्था कार्यालय सेतीले शुरुआतमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गर्दै आएको थियो । हाल नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपि बनाउने, थप सवारी चालक अनुमतिपत्र बनाउने लगायतलाई पनि उक्त लाइसेन्स वितरण गरिंदै आएको छ । रासस