काठमाडौं । बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जनालाई बयानका लागि सात दिनभित्र आयोगमा उपस्थित हुन बुधवार सार्वजनिक सूचना जारी गरेको छ । सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेकाहरूलाई बयानका लागि बोलाइएको अख्तियार स्रोतले आर्थिक अभियानलाई बतायो । तर, यो सूचीमा उक्त ठाउँको ८ आना जग्गा आफ्नो नाममा दर्ता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका छोराको नाम भने समावेश गरिएको छैन । अख्तियारका एक कर्मचारीले भने, ‘८६ जनाको सूचीमा पौडेल थरका एक जना पनि परेका छैनन् ।’
प्रचलित कानूनबमोजिम मुआब्जासमेत दिई सरकारले पहिल्यै अधिग्रहण गरिसकेको उक्त जग्गा व्यक्तिका नाममा दर्ता गरिएको मामिलाले संसद्भित्र पनि व्यापक चर्चा पाएको छ । अख्तियारले जारी गरेको सूचनामा उक्त जग्गा, जग्गाधनी र मोहीसमेत कायम गरी मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीहरू समेतको मिलेमतोमा विभिन्न मितिमा विभिन्न्न व्यक्तिलाई फिर्ता दिइएको उल्लेख छ ।
बोलाइएका व्यक्तिहरू सात दिनभित्र आयोगमा उपस्थित नभए कानूनबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ । उनीहरू फेला परे पक्राउ गर्ने अधिकार अख्तियारमा रहेको छ भने फेला नपरे उनीहरूलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गर्न सकिनेछ । त्यसपछि अदालतले उनीहरूको घर ठेगानामा म्याद सूचना जारी गर्नेछ ।
अख्तियारले काठमाडौं वटुटोलका नाति महर्जन समेतको नाममा म्याद जारी गर्दै ‘मुआब्जासमेत दिई अधिग्रहणको गरिलिएको साबिक हाँडीगाउँ मौजा हा.नं.४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीहरूसमेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानूनी तरीकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरूलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको’ भनेको छ ।
अख्तियारबाट डाकिएका व्यक्तिहरूमा काठमाडौं, सरस्वती स्थानका लक्ष्मीनारायण महर्जन, कसाई टोलका कान्छा महर्जन, दमाई टोलका लक्ष्मीमाया महर्जन, अस्त महर्जन, कृष्ण महर्जन, त्यौडका कुलबहादुर महर्जन, टेबहालका पञ्चनारायण महर्जन, धोबीधाराकी श्रीमायाँ तण्डुकार्नी, बालुवाटारका आशनारायण महर्जन, ठहिटीका चैत्यनारायण महर्जन रहेका छन् । यसैगरी काठमाडौंका विभिन्न ठाउँमा बस्ने पूर्णमाया डंगोल्नी, जोगलाल महर्जन, जितबहादुर महर्जन, उमाकुमारी ढकाल्नी, माधवी सुवेदी, चमेली श्रेष्ठ, बाबा कार्की, मोहन महर्जन, अगम ढुंगाना, डी.एफ.एल. डेभलपर्स प्रालि लगायत ८६ जनालाई अख्तियारले बयानका लागि बोलाएको छ ।