ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्छ : प्रधानमन्त्री

Jun 29, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय भएको चर्चा गर्दै राष्ट्रिय सहमति र समान अवधारणाका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । मुलुकको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई समयानुकूल समायोजन गर्ने र परराष्ट्र नीतिका मूलभूत विषयहरूमा देशभित्र साझा, व्यवहारपरक एवं स्पष्ट दृष्टिकोण तयार पार्ने उद्देश्यले शनिवार राजधानीमा आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफलमा उहाँले विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्ने बताउनुभयो । ‘मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तरराष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ हाम्रो विदेश नीति केन्द्रित छ’, प्रधानमन्त्रीले भन्नुभयो । नेपाली जनतामा सार्वभौमसत्ता सम्पूर्णरुपमा आइसकेको अहिलेको अवस्थामा देशको आर्थिक–सामाजिक उन्नयनतर्फ अग्रसर वर्तमान सरकार राजनीतिक उपलब्धिको संरक्षण तथा सुशासन र विकासका निम्ति लागिपरेको उहाँले बताउनुभयो । ‘राष्ट्रलाई विकास–निर्माणको बाटोमा डोर्‍याउन हाम्रा एक्ला प्रयास पर्याप्त छैनन्, मित्रहरूको साथ र सहयोग चाहिन्छ, बाह्य लगानी एवं प्रविधि भित्र्याएर लक्ष्य हासिल गर्न सकिन्छ’, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न आवश्यक पर्ने बाह्य सहायताको महत्व दर्शाउँदै उहाँले अनुदान र ऋण नभई लगानी ल्याउन देशको कूटनीति परिलक्षित हुनुपर्नेमा जोड दिनुभयो । नेपालका आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी आकर्षण गर्नु अपरिहार्य भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको केन्द्रमा राष्ट्रिय हित रहेको तथा संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्रा्ष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको नेपालले पूर्ण परिपालना गरिरहेको बताउनुभयो । उहाँले अन्य देशले पनि त्यसै गरुन् भन्ने चाहेको पनि बताउनुभयो । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, खेलकूदलगायत कूटनीतिका विविध विधाको चर्चा गर्दै उहाँले आफ्ना मालसामान र उत्पादनको विक्री बढाउन गरिने अस्वस्थ प्रतिस्पर्धाको विपक्षमा नेपाल रहेको उहाँको कथन थियो । उहाँले भन्नुभयो,‘बलियाका प्रतिस्पर्धाले दुब्लाहरू मारमा नपरुन् ।’ बहुपक्षीयतालाई अस्वीकार गर्नु अनुपयुक्त भएको विचार व्यक्त गर्दै प्रधानमन्त्रीले अल्पकालीन लाभलाई लिएर शक्तिका आडमा थिचोमिचो हुन नहुने बताउनुभयो । शक्ति राष्ट्रले साना र निर्बल देशलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार तथा उनीहरूको अन्तरराष्ट्रिय दायित्वप्रति उहाँको भनाइ लक्ष्यित थियो । सन्तुलित छिमेक सम्बन्ध नेपाललले दुवै छिमेकीसँग अत्यन्त सन्तुलित सम्बन्ध कायम गरेको तथा नीति पनि तद्नुरुप नै अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले छिमेकमा कतैपनि तनाब नहोस् भन्ने चाहेको बताउनुभयो । सबै समस्याको समाधान वार्ता र संवादका माध्यमबाट हुनुपर्ने नेपालको मान्यता पनि उहाँले सुनाउनुभयो । छिमेकीसँगको सम्बन्ध सङ्लिएको छ, थिति बसेको छ, हाम्रो सम्बन्धका थुप्रै विषयमा पुनरावलोकन भएका छन् र भइरहेका पनि छन्’,बहुपक्षीय एवं अन्तरराष्ट्रिय मञ्चहरूमा छिमेकका सरकार प्रमुखसँग भएका औपचारिक एवं अनौपचारिक छलफलबारे जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो । विश्व शाान्ति, आम विनाशका हातहतियारको विरोध, लोकतन्त्र र मानवअधिकारको रक्षा, जलवायु परिवर्तन, वातावरण संरक्षणका साथै मानव जातिको हित प्रवर्द्धनलाई पनि देशको परराष्ट्र नीतिले उच्च प्राथमिकता दिएको प्रधानमन्त्रीले बताउनुभयो । इपिजी प्रतिवेदन प्रस्तुतिको वातावरण बन्छ नेपाल र भारतबीच सन् १९५० भएको शान्ति तथा मैत्री सन्धि तथा त्यसयता भएका सबै असमान सन्धि सम्झौतालगायत द्विपक्षीय सम्बन्धका समग्र विषयलाई समेटेर सुझावसहितको प्रतिवेदन तयार पार्न दुवै देशका प्रबुद्ध व्यक्ति सम्मिलित समूह (इपिजी)को प्रतिवेदन प्रस्तुतिको वातावरण शीघ्र तयार हुनेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले बताउनुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घरेलु नीतिको विस्तारित रुप नै देशको परराष्ट्र नीति भएको बताउँदै बदलिँदो परिवेशमा राष्ट्रिय हित संरक्षण एवम् प्रवद्र्धनका साथ कूटनीति सञ्चालन भइरहेको बताए । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)