कोलकाता बन्दरगाहद्वारा महावाणिज्यदूत अर्याल सम्मानित
Jun 29, 2019
 
समाचार
असार १४, वीरगञ्ज(अस) । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल सम्मानित भएका छन् । महावाणिज्यदूत अर्याललाई कोलकाता पोर्ट ट्रष्टले एक समारोहबीच सम्मानित गरेको हो ।
नेपाल र भारतबीचको व्यापार र पारहवन सहजीकरणमा उदाहरणीय योगदान पुर्याएको भन्दै पोर्ट ट्रष्टले अर्याललाई सम्मान गरेको हो ।कोलकाता पोर्ट ट्रष्टका अध्यक्ष विनितकुमारले महावाणिज्यदूतलाई सम्मानपत्र हस्तान्तरण गरेका छन् ।
अर्याल कोलकातामा व्यापार सहजीकरणमा उदाहरणीय काम गरेर सम्मानित हुने पहिलो महावाणिज्यदूत बनेका छन् । नेपालको तेस्रो मुलुकसँगको व्यापारमा कोलकाता सबैभन्दा बढी उपयोगमा रहेको बन्दरगाह हो । अर्याल विगत तीन वर्षदेखि कोलकातमा महावाणिज्यदूतको रुपमा कार्यरत छन् ।
नेपाल र भारत व्यापारलाई सहज बनाउन उनले विशेष योगदान पुर्याएको पोर्ट ट्रष्टले बताएको छ । नेपाली आयातमा कोलकाता बन्दरगह भन्सारको कागजी प्रक्रिया हटाएर ‘डाइरेक्ट ट्रान्ससिपमेण्ट’ प्रणाली लागू गर्न अर्यालको सक्रिय भूमिका रहेको पोर्ट ट्रष्टले उल्लेख गरेको छ ।