ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देशभर ११.६४ प्रतिशत धान रोपाइँ

Jul 1, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । कृषि तथा पशुपक्षी मन्त्रालयको तथ्यांकअनुसार बिहीवार (असार १२ गते) सम्म देशभरमा ११ दशमलव ६४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । ढिलो गरी मनसुन शुरू भएका कारण रोपाइँ पनि ढिलै शुरू भएको मन्त्रालयको भनाइ छ । राज्य संघीय संरचनामा जानु अघिसम्म कृषि मन्त्रालयले प्रत्येक दिनको धान रोपाइँको तथ्यांक सार्वजनिक गर्ने गर्दथ्यो । तर, संघीय संरचनामा गएसँगै स्थानीय तह तथा प्रदेशले संघलाई उक्त तथ्यांक उपलब्ध गराउने प्रणाली विकास नभइसकेकाले तथ्यांक प्राप्तिमा कठिनाइ भएको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराई बताउँछन् । सामान्यतया जेठको अन्तिम सातादेखि शुरू हुने मनसुन यो वर्ष असार ५ गतेदेखि मात्रै शुरू भएको हो । मनसुनमा आधारित धान खेतीको अंश धेरै रहेका कारण रोपाइँको प्रतिशत मनसुनको शुरूआत र वर्षाको परिमाणमा भर पर्दै आएको छ । दुई साताअघि काठमाडौंमा बसेको दक्षिण एशियाली मौसमविद्हरूको बैठकले यो वर्ष नेपालका प्रदेश १, २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम मनसुनी वर्षा हुने अनुमान प्रस्तुत गरेको थियो । यही अनुमानका आधारमा केही दिनअघि मन्त्रालयले यो वर्ष अघिल्लो वर्षको तुलनामा धान उत्पादन ५ प्रतिशतले घट्ने अनुमानित तथ्यांकसमेत प्रस्तुत गरेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा एक तिहाइभन्दा बढी हिस्सा कृषिको रहेकोमा त्यसमध्ये २१ प्रतिशत त धानको मात्रै रहेको छ । तर, सिँचाइ सुविधाको अभावमा करीब ८० प्रतिशत किसानले वर्षात्को भरमा धान रोप्दै आएका छन् । गत वर्षको जेठ २५ गते प्रारम्भिक र असार १३ गतेदेखि पूर्ण मनसुन शुरू भइसकेको थियो । परिणामतः (आर्थिक वर्ष २०७५/७६) मा ५६ लाख १० हजार मेट्रिक टन (मेटन) धान उत्पादन भयो । यसअघि २०७१ को असार ६ गतेदेखि मनसुन शुरू भएकोमा आर्थिक वर्ष २०७१/७२ मा धान उत्पादन ४७ लाख ८८ हजार मेटन मात्रै थियो । यी दुई वर्षको प्रतिहेक्टर उत्पादकत्वमा रहेको फरक धान उत्पादनको परिमाणमा केही कारक भए पनि मनसुनको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको कृषि विज्ञहरू बताउँछन् । धान विज्ञ भोलामान सिंह बस्नेत सरकारले ठूलो बजेट छुट्याएर वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउन नसक्दासम्म धान उत्पादन हरेक वर्ष तलमाथि भइरहने धारणा राख्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)