ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयातमा कडाइपछि तरकारी र फलफूलको मूल्यवृद्धि

Jul 2, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली तथा कञ्चनपुरमा फलफूल तथा तरकारीको मूल्य वृद्धि भएको छ । भन्सार विभागले क्वारेन्टाइन जाँचको प्रमाणपत्र नपाएका फलफूल तथा तरकारी आयातमा प्रतिबन्ध लगाएपछि मूल्य बढेको हो । विभागले असार २ गते परिपत्र गरी विषादी परीक्षणविना भारतीय तरकारी तथा फलफूल आयातमा रोक लगाउन भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो । उक्त निर्देशनपश्चात् विषादी परीक्षणमा ढिलाइ हुँदा सहज रूपमा तरकारी तथा फलफूल आयात हुन सकेको छैन । कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद पोखरेलले विषादी परीक्षण कहाँ गरिएको हुनुपर्ने भन्ने विषयमा पत्रमा कुनै विषय उल्लेख नभएको जानकारी दिए । स्थानीय तरकारी–फलफूल थोक तथा खुद्रा विक्रेताले आयात नहुँदा र आन्तरिक उत्पादनले माग थेग्न नसक्दा उपभोक्ता मूल्य वृद्धिको मारमा परेको बताएका छन् । यसअघि २० रुपैयाँमा पाइने प्रतिकिलो आलुको मूल्य हाल ५० रुपैयाँ पुगेको छ । १५ रुपैयाँमा पाइने लौकाको मूल्य ६० पुगेको धनगढी उपमहानगरपालिका–१ का कृष्ण पण्डितले बताए । फलफूलको मूल्य पनि दोब्बर/तेब्बरले बढेको स्थानीयको गुनासो छ । ‘विभागले विस्तारै आयात कम गर्ने नीति लिएको भए उपभोक्ता मारमा पर्ने थिएनन्,’ नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले भने । विषादी ल्याब गोदावरी नगरपालिका (अत्तरिया) मा रहे पनि ५/७ दिन पर्खनु पर्दा लोड भएका तरकारी तथा फलफूल कुहिने खतरा हुने उनको भनाइ छ । सुदूरपश्चिममा तरकारीको वार्षिक उत्पादन १ लाख टन रहेको र २ लाख टन आयात हुने गरेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । तरकारी आयातमा मात्रै वार्षिक २० करोडभन्दा बढी रुपैयाँ खर्च भइरहेको मन्त्रालयका कृषि व्यवसाय महाशाखा प्रमुख यज्ञराज जोशीले बताए । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका प्रमुख गजाधर जोशीले तरकारी र फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादी भएमात्रै खानयोग्य मानिने जानकारी दिए । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा ५० प्रतिशतभन्दा बढी विषादी देखिएकाले विभागको निर्णय स्वागतयोग्य भएको कृषक अगुवाको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)