पहिलो पटक वित्तीय साक्षरता सम्मेलन शुरु : ‘वित्तीय अवस्थामा सुधार ल्याउन मद्दत पुग्ने’
Jul 2, 2019
 
समाचार
असार १७, काठमाडौं(अस) । दुई दिने वित्तीय साक्षरता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन मंगलवारबाट काठमाडौमा शुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मेलनको औपचारिक रूपमा उद्घाटन गरेका छन् ।
सो अवसरमा अर्थमन्त्री खतिवडाले नेपालमा आयोजित यो सम्मेलनले नेपालको वित्तीय बजार, वित्तीय साक्षर अवस्था तथा आर्थिक स्थितिमा सुधार ल्याउन मद्दत गर्ने बताए । सो अवसरमा नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष डा. रेवत बहादुर कार्कीले सम्मेलन, पूँजिबजारमा अन्तरराष्ट्रिय अभ्यासलाई लियर नीति निर्माणका लागि उपयोगी हुने बताए ।
सेबोन र अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएफई) को संयुक्त प्रयासमा आयोजित सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, काजकिस्तान, सिंगापुर, थाइल्यान्ड, भुटान, चीन र भारत लगायत देशका साथै सम्बद्ध अन्य संस्थाको सहभागिता छ ।
यसका साथै प्रतिष्ठित अन्तरराष्ट्रिय संस्थाहरू, पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायका प्रतिनिधि गरी ४० जना र वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताका अन्तरराष्ट्रिय विज्ञसहित अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिस्ट्रारको कार्यालय, बैंकर एशोसिएशन, नेप्से, लगानीकर्ता सघंहरूको प्रतिनिधिसहित १२५ जना सहभागी छन् ।
दुई दिन सम्म चल्ने सम्मेलनबाट वित्तीय साक्षरता र वित्तीय शिक्षा सम्बन्धी नीति निर्माणका साथै वित्तीय शिक्षा लिनेदिने अभ्यासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा सेबोनले गरेको छ । साथै, सम्मेलनबाट नेपाल सहित यस क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धमा देखिएका चुनौती र अवसरहरूबारे छलफल गरी समाधान पहिल्याउन प्रयास गरिने छ ।