पूर्वसभासद कार्की सर्वोच्चद्वारा पनि भ्रष्टाचारी ठहर
Jul 2, 2019
 
समाचार
असार १७, काठमाडौं(अस) । घूस लिएको आरोपमा पूर्वसभासद डोलबहादुर कार्कीलाई रु. १० लाख जरिवाना गर्ने विशेष अदालतको फैसलालाई मंगलवार सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीशहरु दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले कार्कीले घूस लिएको ठहर गरी विशेष अदालतको फैसलालाई सदर गरेको हो । नौ वर्ष अघि तत्कालीन सभासद कार्कीले राजकुमार राई नामक व्यक्तिलाई प्रहरी निरीक्षकमा जागीर लगाईदिने प्रलोभन देखाई रु. १० लाख घूस लिएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ वर्ष अघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारको टोलीले पूर्वसभासद कार्कीसँगै स्वामी ब्रम्हानन्द उदासिनलाई पनि पक्राउ गरेको थियो । विशेष अदालतले कार्कीलाई छ महीना कैद गरी रु. १० लाख जरिवाना गर्ने फैसला गरेको थियो ।
उदासिनलाई भने चार महीना कैद गरी रु. १० लाख नै जरिवाना गरिएको थियो । विशेष अदालतको सो फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको थियो ।