ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि विकास–एक्सिस रेमिट्यान्स सम्झौता : आगामी आर्थिक वर्षदेखि सेवा शुरू हुँदै

Jul 5, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा
काठमाडौं । कृषि विकास बैंक र भारतको एक्सिस बैंकबीच भएको रेमिट्यान्स सम्झौताअनुसार आगामी आवदेखि सेवा शुरू हुने भएको छ । नेपालबाट भारतमा र भारतबाट नेपालमा पैसा पठाउन सकिनेगरी यी दुई बैंकबीच गत जेठमा यस्तो सम्झौता भएको थियो । अब आन्तरिक तयारी पूरा गरेर आव २०७६/७७ देखि नै रेमिट्यान्स सेवा शुभारम्भ गर्ने योजना कृषि विकास बैंकको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले ग्राहक पहिचान (केवाईसी) मोडलमार्फत नै रेमिट्यान्स सेवा प्रवाह गरिने जानकारी दिए । भारतमा काम गर्ने नेपाली कामदारलाई लक्षित गरेर यो सेवा दिन लागिएको उनले बताए । ‘पैसा पठाउने सहज माध्यम नहुँदा नेपालीहरू भारतबाट नगद नै बोकेर स्वदेश आउँछन् । त्यस क्रममा उनीहरूको पैसा सीमा क्षेत्रलगायत ठाउँमा लुटिने गरेको पनि पाइयो,’ उनले भने, ‘त्यस्ता समस्या न्यूनीकरणका लागि एक्सिस बैंकसँग रेमिट्यान्स सम्झौता गरेका हौं ।’ साथै नेपालमा आउने भारतीय कामदारका लागि पनि यो सेवा लाभदायी हुने उनको भनाइ छ । कृषि विकास बैंकले बाहिरी मुलुकका बैंकसँग गरेको यो पहिलो सम्झौता पनि हो । एक्सिस बैंक भारतको तेस्रो ठूलो बैंक हो । उक्त बैंकले भारतभर ४ हजारभन्दा बढी शाखा स्थापना गरेको छ । त्यसैले उक्त बैैंकबाट सेवा विस्तार गर्न सहज हुने भएकाले रेमिट्यान्स सम्झौता गरिएको सीईओ उपाध्यायले बताए । साथै कृषि विकास बैंकका शाखा पनि नेपालका सबै जिल्लामा भएकाले रेमिट्यान्स सेवा थप प्रभावकारी र सहज हुने उनको विश्वास छ । बैंक सरकारको ‘एक व्यक्ति, एक खाता’ अन्तर्गत अहिलेसम्म करीब ३१ हजार खाता खोल्न सफल भएको छ । उक्त खातामा हालसम्म करीब रू. १६ करोड बचत भइसकेको बैंकले बताएको छ । सरकारले गत वैशाख १ गतेदेखि यो अभियान सञ्चालन गरिरहेको छ । ‘सरकारको यो अभियानले वित्तीय साक्षरता बढेको देखिन्छ,’ सीईओ उपाध्यायले भने, ‘रेमिट्यान्स र घरेलु व्यवसायको पैसा बैंकिङ प्रविधिमा आउन शुरू गरेको छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)