परीक्षाको परिणाम फेरबदल गरेको दाबीसहित ३ जना उपर आरोपपत्र दायर
Jul 8, 2019
 
समाचार
असार २३, काठमाडौं(अस) । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुको परीक्षाको प्राप्तांक फेरबदल गरको दाबी सहित तीन जना उपर सोमवार विशेष अदालत काठमाडौंमा अरोपपत्र दायर गरेको छ ।
अख्तियारले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत शिक्षक सुरेन्द्र प्रसाद कोईराला, त्रिभुवन विश्वविद्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत राम बहादुर कर्माचार्य र बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वरमा कायम मुकायम प्रशासनिक अधिकृत छैटौं तहमा कार्यरत कर्मचारी केदार भट्टराई विरुद्ध छुट्छुट्टै मागदावी सहित अदालतमा आरोपत्र दायर गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार त्रिवि परीक्षा नियन्त्रण कार्यालय मानविकी संकायको गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्यसँग मिलेमतो गरी भक्तपुर बुहुमुखी क्याम्पस दुधपाटीका शिक्षक सुरेन्द्र प्रसाद कोइरालाले सम्पूर्ण परीक्षार्थीको भन्दा बढी प्राप्तांक हुन गरी अंक थपाई प्रथम श्रेणीमा उत्तिर्ण गरेको तथा सन् २०१९ को दीक्षान्त हुँदा प्रथम श्रेणीमा गोल्ड मेडल प्राप्त गरेको पाइएको छ ।
यसैगरी निज कर्माचार्यले त्रिभुवन विश्वविद्यालयको मर्यादा विपरित गोपनियता भंग गरी बानेश्वर बहुमुखी क्याम्पसका कर्मचारी भट्टराईको एमए अर्थशास्त्र संकायको पाँच ओटा पेपरमा अंक थप गर्न सुरेन्द्र प्रसाद कोइराला मार्फत् घुस रकम लिएको दिएको देखिएको प्रमाण पुष्टि हुन आएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले परीक्षाको परिणाम फेरबदल गराउन घुस लिएको दिएको प्रमाण पुष्टि हुन आएको भन्दै तीनै जना उपर विशेष अदालतमा मुद्धा दायर गरेको हो ।