असार २५, काठमाडौं । नवीकरणीय ऊर्जामा नयाँ सम्भावनाको खोजी गरिरहेका युवा उद्यमीले खाना पकाउने अनवीकरणीय ऊर्जाको विकल्पका रूपमा ‘होमबायोग्यास’ नेपाल भित्र्याएका छन् । युवा उद्यमीद्वय राम अग्रवाल र विपीन खेतानले बायोग्यासकै एक उन्नत प्रविधिका रूपमा इजरायलमा विकास गरिएको होमबायोग्यास नेपाल भित्र्याएका हुन् ।
यसको प्रविधि, बनोट, प्रयोगमैत्री र प्रभावकारिताको हिसाबले नेपालमा गोबरग्यासका रूपमा परिचित बायोग्यासभन्दा फरक छ । लागतको हिसाबले यो गोबरग्यास प्रविधिभन्दा निकै सस्तो रहेको उनीहरुले बताए । ‘होमबायोग्यासले गोबरग्यासले जस्तो ठाउँ ओगट्दैन, होमबायोग्यास भने घरभित्रै अटाउँछ, यसले बढीमा एउटा सोफाले लिने ठाउँ ओगट्छ, होमबायोग्यासको सबै संरचना बनिबनाउ हुन्छ, जुन एउटा मध्यम आकारको प्याकेटमा अटाउँछ, बढीमा रू.६० हजारमा यो प्रविधि स्थापना गर्न सकिन्छ’, क्लिन इनर्जी नेपालका अध्यक्षसमेत रहेका अग्रवालले भने ।
खासगरी भान्साबाट निस्कने फोहोरमैला र गाईवस्तुको मलबाटै यसबाट उर्जा उत्पन्न हुन्छ । थोरै फोहोरबाट पनि एउटा परिवारलाई पुग्ने ऊर्जा उत्पन्न हुने भएकाले गाईवस्तु नपालिने शहरी क्षेत्रमा पनि यो उपयोगी भएको उनको जिकिर छ । अध्यक्ष अग्रवालले भने, ‘भान्सामा उत्पन्न हुने सड्ने फोहोरबाटै ऊर्जा उत्पन्न गर्न सकिन्छ ,ऊर्जासँगै उत्पन्न हुने प्रांगारिक मलले घरमै तरकारी उब्जाउन सकिन्छ भने बजारमा विक्री गरेर आर्थिक लाभ पनि गर्न सकिन्छ ।’
एक तथ्यांकअनुसार औद्योगिक देश नभए पनि नेपालले प्रतिवर्ष ८० लाख टन कार्बन उत्सर्जन गर्छ । नेपालमा मुख्यतः खाना पकाउने इन्धन, सवारी साधन र उद्योग स्रोतबाट कार्बन उत्र्सजन हुन्छ । यसमध्ये सबैभन्दा बढी ऊर्जा खपत खाना पकाउने इन्धनले गर्छ । सिंगो खपतको लगभग ७५ प्रतिशत हिस्सा खाना पकाउने इन्धनले ओगट्छ । खाना पकाउन प्रयोग गरेको इन्धनले वातावरणमा पु¥याउने क्षति केवल कार्बन उत्सर्जनमा सीमित छैन । यसले एकातर्फ जंगल विनाश गरिरहेछ भने अर्कातर्पm गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याइरहेछ । नेपालमा वर्षेनी ८ हजारभन्दा बढी मानिसको घरभित्रको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको बताइन्छ ।
जंगल विनाश र कार्बन उत्सर्जनको दिगो विकल्प समाधान नवीकरणीय उर्जा नै भएको जानकारी दिँदै क्लिन इनर्जी नेपालका प्रबन्ध निर्देशकसमेत रहेका उद्यमी खेतानले भने, ‘नवीकरणीय ऊर्जाको खाँचो मुख्यतः खाना पकाउने इन्धन र सवारीसाधन क्षेत्रमा आवश्यक छ । सवारीसाधनका लागि विद्युत् भरपर्दो वैकल्पिक ऊर्जा हुनसक्छ ।’
ग्रामीण क्षेत्रमा खाना पकाउन प्रयोग हुने दाउराको प्रयोगले वनविनाश, कार्बन उत्सर्जन र स्वास्थ्य समस्या निम्त्याइरहेको छ भने शहरी क्षेत्रमा प्रयोग हुने एलपिजी (खाना पकाउने ग्यास) ले नेपाललाई परनिर्भर बनाइदिएको छ । बायोग्यास प्रविधि नेपालमा सफलतापूर्वक अभ्यास भइरहेको भए पनि सरकारले आवश्यकतानुसार तदारुकता र उत्साह नदेखाएको सरोकार हुनेको गुनासो छ । झण्डै शून्य लागतमा फोहोरबाट ऊर्जा र प्रांगारिक मल दिने बायोग्यासजस्ता प्रविधिलाई जनस्तरमा लोकप्रिय बनाउन सरकारले तदारुकता देखाउनु जरुरी छ ।
प्रबन्ध निर्देशक खेतानले भने, ‘अधिकांश फोहोर घरबाटै उब्जने हो, घरको फोहोर घरमै व्यवस्थापन गर्न सकियो भने फोहोर व्यवस्थापनको ठूलो हिस्सा पूरा हुनेछ । त्यो काम होमबायोग्यासले दिन सक्छ, हामी उन्नत प्रकारको विद्युतीय कारका लागि पनि पहल गर्दैछौं, होमबायोग्यास र विद्युतीय कारको प्रयोगले नेपाललाई छिट्टै कार्बनमुक्त देश बनाउन सकिनेछ ।’
ऊर्जाबाहेक बायोग्यास प्रणालीले फोहोर व्यवस्थापन, जैविक मल उत्पादन, कोठा तातो बनाउन र उज्यालोका लागि प्रयोग गर्न सकिन्छ भने यसको ऊर्जाले स्वास्थ्यलाई कुनै पनि हानि पुर्याउँदैन । अर्कातर्फ यसले ग्रामीण क्षेत्रमा रोजगारीको सिर्जना पनि गर्छ ।
क्लिन इनर्जी नेपालका निर्देशक वासु गौतमले आफूहरूले नेपालमा होमबायोग्यास गत वैशाखदेखि भित्र्याई प्रयोगसमेत शुरु गरिसकेको जानकारी दिए । उनका अनुसार होमबायोग्यास शहरमा भान्साको फोहर र ग्रामीण क्षेत्रमा गोबरबाट सञ्चालन गरी खान पकाउन सकिन्छ । रासस