साझा यातायातका रात्रिसेवा शुरु, कहाँ–कहाँ छन् साझाका रुट ?
Jul 11, 2019
 
समाचार
असार २६, काठमाडौं । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौं उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौंका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेको हो ।
तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलंकी र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ ।
बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन् । यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु संख्या कम भएको उनले बताए । उनले भने, ‘यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ ।’
अहिले परीक्षणका रुपमा तीन ओटा बसबाट शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले बताएको छ । संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताए । उनले भने, ‘हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौं ।’
काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले बताएको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकालगायतले साझाको सेयर खरीद गरेको व्यवस्थापक पाण्डेयले बताए । उनका अनुसार संस्थाले प्रदेश नं ३ कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा रू. ४५ करोडमा विद्युतीय बस खरीद गर्ने भएको छ ।
विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ सरकारबाट रू.३० करोड, काठमाडौं महानगरपालिकाबाट रू. १० करोड, ललितपुर महानगरपालिकाबाट रू.२ करोड ५० लाख र साझा आफैंले रू. २ करोड ५० लाख सेयर लगानी गरेर विद्युतीय बस खरीद गर्ने निर्णय भएको हो ।
विसं २०७० मा सेवा शुरु हुँदा पहिले नगर केन्द्रित साझाका बस अहिले काठमाडौंका ग्रामीण क्षेत्रसम्म विस्तार भइरहेको उनले बताए । उनले भने, ‘उपत्यकाका अझै धेरै पालिकाले साझासँग सहकार्य गर्न चाहेका छन् ।’ अघिल्लो साता मात्रै काठमाडौं महानगरपालिका र साझा यातायातसँगको सहकार्यमा ‘यूरो ४’ मापदण्डका २० नयाँ बस भित्र्याएको थियो ।
बस भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन् । यी बस भक्तपुरको नयाँ र पुरानो दुवै बाटो हुँदै परिक्रमा गर्ने गरी रुट अनुमति लिएर सञ्चालन भइरहेको संस्थाका प्रबन्धक पाण्डेयले बताए । नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्काे मार्गमा बस सञ्चालन शुरु भएको थियो ।
ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपांगता र ज्येष्ठ नागरिकमैत्री बसको शुरुआत साझाले गरेको छ । विसं २०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः शुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् ।
यीमध्ये एउटा लो फ्लोर बस (अपांगता र ज्येष्ठ नागरिक लक्षित बस) र चार उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेको संस्थाले बताएको छ । रासस