ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तल्लो मोदी जलविद्युत् : निर्माण कम्पनी र कर्मचारीबीच विवाद

Jul 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरि विवाद शुरू भएको छ । उत्पादनको तयारीमा रहेको आयोजना विवादले थलिँदै गएको छ । सहमति विपरीत आयोजना प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले कर्मचारी भर्नासम्बन्धी विज्ञापन खुलाएपछि कर्मचारी र निर्माण कम्पनीबीच विवाद भएको हो ।

 कर्मचारी स्थायी गर्ने विषयमा गत असार ९ गते दुवै पक्षबीच भएको सहमति उल्लंघन गर्दै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गरी काम बन्द गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयकोे पहलमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच २३ पदमा विज्ञापन खुलाउने र कार्यरत कर्मचारलाई प्राथमिकता दिने सहमति भएपछि तीन हप्तादेखि रोकिएको निर्माण कार्य शुरू भएको थियो । तर, कम्पनीले बिहीवार खुलाएको विज्ञापनमा कार्यरत कामदारले आवेदन दिने पद नै नराखिएपछि उनीहरूले विरोध गरेको कर्मचारी सौरभ पौडेलले बताए । 

जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आयोजनाको शुरुआतदेखि नै कार्यरत कर्मचारीलाई खुला प्रतिस्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कार्मचारीलाई प्रोत्साहन रकम दिने सहमति भएको थियो । विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई १ लाख १५ हजारका दरमा प्रोत्साहन रकम दिर्ने सहमति थियो ।

कर्मचारीहरूले पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई सहमति उल्लंघन भएको विषयमा जानकारी गराएका छन् । उनीहरूले पुनः विज्ञापन आह्वान नगरिए आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् । प्रमुख जिल्ला अधिकारी नेपालले सहमति विपरीत गरिएको विज्ञापन रद्द गरेर सहमतिलाई कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि पहल गर्ने आश्वासन दिएकी छिन् । कम्पनीका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले एक हप्ताको समय माग गरिएको र कर्मचारीसँगको सहमति कार्यान्वयन गर्ने बताए । 

आयोजनाले असोज महीनाभित्र विद्युत् उत्पादन गर्ने तयारी थालेको छ । असार अन्तिमसम्ममा विद्युत् उत्पादन गर्ने भनिए पनि सुरुङ मर्मत गर्नुपरेका कारण असोजसम्म पुग्ने बताइन्छ । टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)