ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरालाई ‘बेस’ बनाउँदै एयरलाइन्सहरू

Jul 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)लाई ‘बेस’ बनाएर उडान गर्दै आएका निजीक्षेत्रका वायुसेवा कम्पनीहरू क्षेत्रीय विमानस्थलतर्फ मोडिन थालेका छन् । खासगरी, निजीक्षेत्रका दुई ठूला कम्पनीहरू बुद्ध एयर र यती एयरलाइन्सले पोखरालाई पनि ‘बेस’ बनाउन लागेका हुन् ।

त्यसमा पछिल्लो उदाहरण बनेको छ, यती एयरलाइन्स । उक्त कम्पनीले पोखरालाई ‘बेस’ बनाएर भैरहवा र भरतपुर विमानस्थल तथा माउन्टेन फ्लाइटमा सेवा सञ्चालन गर्ने भएको छ । साउन १६ देखि पोखरा–भैरहवा, भदौ १५ देखि पोखरा–भरतपुर र भदौ २९ देखि माउन्टेन फ्लाइटमा उडान गर्ने तालिका यती एयरले सार्वजनिक गरेको छ । पर्यटकीय सिजन (अक्टोबर–नोभेम्बर) नजिकिँदै गर्दा यती एयरलाइन्सले नेपालका प्रमुख पर्यटकीय गन्तव्य पोखरा, भैरहवा र माउन्टेन फ्लाइटलाई लक्षित गर्दै पहिलो पटक पोखराबाट उडान गर्न लागेको हो ।

क्षेत्रीय विमानस्थललाई प्रयोगमा ल्याउन र प्रादेशिक संरचना अनुसार सेवा प्रवाह गर्न पोखरालाई ‘बेस’ बनाइन लागेको यती एयरलाइन्सका प्रवक्ता भीमराज राईले बताए । ‘स्थानीय बासिन्दा, आन्तरिक÷बा≈य पर्यटक र नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी यो योजना ल्याएका छौं,’ राईले भने, ‘३० सीट क्षमताको जेटस्ट्रीम–४१ जहाज पोखरामै राखेर ती गन्तव्यमा उडान गर्छाैं ।’ यतीसँग जेटस्ट्रीम–४१ पाँचओटा र चारओटा ७२ सिट क्षमताका एटीआर–७२–५०० जहाज छन् ।

बुद्ध एयरले यसअघि नै पोखरा–भरतपुर र पोखरा–भैरहवा सीधा उडान गर्दै आएको छ । तत्कालका लागि पोखरा बाहेकका विमानस्थललाई ‘बेस’ बनाएर सीधा उडान गर्ने योजना नरहेको कम्पनीले जानकारी दिएको छ । तर, पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि भने त्यहीँबाट अन्तरराष्ट्रिय उडान गर्ने योजना बुद्ध एयरको छ ।

पोखरालाई ‘बेस’ बनाउनुअघि बुद्धले टीआईएलाई केन्द्र बनाएर आन्तरिक र बाह्य उडान गर्दै आएको थियो । आन्तरिक उडानका अधिकांश एयरलाइन्सले काठमाडौंलाई नै ‘बेस’ बनाउँदै आएका छन् ।

पछिल्लो समय आन्तरिक उडानमा प्रतिस्पर्धी देखिएको श्री एयरलाइन्सले पनि यात्रुको चापलाई ध्यान दिएर काठमाडौं बाहेकका विमानस्थललाई ‘बेस’ बनाउने योजना बनाउँदैछ । श्री एयरलाइन्ससँग क्यानाडाको बम्बार्डियर कम्पनीका सीआरजे–२०० मोडलका दुई र सीआरजे–७०० मोडलमा दुईओटा जहाज छन् । सीआरजे–२०० को सिट क्षमता ५० र सीआरजे–७०० को ७० हो ।

काठमाडौंको उडान चाप घट्ने 
आन्तरिक उडानका एयरलाइन्सहरूले क्षेत्रीय विमानस्थललाई ‘बेस’ बनाउँदा टीआईएको पार्किङ र एयर ट्राफिकको समस्या न्यूनीकरण हुने सरोकारवालाहरू बताउँछन् । टीआईएका महाप्रबन्धक राजकुमार क्षत्रीले धेरै जहाज भएका कम्पनीहरूले १/२ ओटा जहाज क्षेत्रीय विमानस्थलमा राख्नुपर्ने जानकारी दिए । ‘यसले पार्किङको समस्या न्यूनीकरण र एयर ट्राफिकको समस्या समाधान गर्न सघाउँछ, बाहिर ‘बेस’ बनाउनु सकारात्मक हो,’ उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले पनि एयरलाइन्सहरूले काठमाडौं बाहेकका विमानस्थललाई ‘बेस’ बनाएर उडान गर्नु सकारात्मक भएको बताए । अन्य विमानस्थललाई ‘बेस’ बनाउनुपर्ने प्राधिकरणको नीतिगत व्यवस्था कार्यान्वयनमा आउँदै गरेको उनको भनाइ छ । ‘प्रादेशिक संरचना अनुसार उडान गर्दा त्यहाँको गतिविधि बढ्नेछ र जनताले सहज रूपमा सेवा पाउनेछन्,’ उनले भने, ‘अहिलेजस्तो काठमाडौं नै आउनुपर्ने बाध्यता हट्नेछ ।’ हाल टीआईएको आन्तरिक उडानका जहाज पार्किङस्थलमा एक पटकमा १७ देखि १९ ओटा जहाज राख्न सक्ने क्षमता छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)