ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठूला उद्योगमा मात्र ‘भीसीटीएस’ लगाउन सरकारलाई दबाब

Jul 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
भीसीटीएस लगायत सरकारले लागू गरेका नियमहरूका कारण व्यवसायी आन्दोलनमा उत्रिँदा वीरगञ्ज नाकामा शनिवार रोकिएका ट्रक । तस्वीर : आर्थिक अभियान
author avatar विजय दमासे

काठमाडौं । सरकारले आन्तरिक ढुवानीमा साउन १ देखि लागू गरेको भेइकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) तत्काल ठूला उद्योगमा मात्रै लागू गर्न सरकारलाई दबाब परेको छ ।

साना उद्योगी/व्यवसायी र ढुवानीकर्ता भीसीटीएसविरुद्ध आन्दोलित भएपछि निजीक्षेत्रले परीक्षणका लागि ठूला उद्योगमा मात्रै लागू गर्न सरकारलाई दबाब दिएको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकमा व्यवसायीहरूले यस्तो अडान राखेपछि सरकारलाई साउन १ देखि कार्यान्वयनमा ल्याइएको भीसीटीएस प्रणालीमा संशोधन गर्नुपर्ने दबाब परेको हो । प्रधानमन्त्री ओलीले सरोकारवालाहरूसँग छलफलपछि घरेलु तथा साना उद्योगी र व्यवसायीलाई हालका लागि भीसीटीएस बाध्यकारी नबनाउन अर्थमन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भीसीटीएस आफैमा राम्रो भए पनि साना उद्योगी र व्यवसायीमाथि अहिले नै यो व्यवस्था लागू गर्ने बेला नभएको बताए । ‘पहिले ठूला उद्योगमा सरकारले लागू गर्नुपर्छ । पूर्वाधार र प्रविधिको विस्तारपछि मात्रै यसलाई पूर्ण रूपमा लागू गर्नुपर्छ,’ उनले आर्थिक अभियानसँग भने ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले स्थानीय उद्योग तथा ढुवानीमा यो प्रणाली लागू गर्न खोज्नु व्यावहारिक नभएको बताए । तत्कालका लागि ठूला उद्योगका हकमा ३ महीना परीक्षण गरेर यसलाई पूर्ण रूपमा लागू गर्न जरुरी रहेको उनको भनाइ छ । ‘आर्थिक पारदर्शिता खोज्न सरकारले भीसीटीएस लागू गर्न खोज्यो, जुन सकारात्मक हो । तर, साना उद्योग र व्यवसायको हकमा यो लागू गर्नु हुँदैन,’ उनले भने । भीसीटीएस, स्थायी लेखा नम्बर (प्यान) र मूल्य अभिवृद्धि कर (भ्याट) सरकारले एकैपटक लागू गर्न खोज्दा समस्या निम्तिएको अग्रवालको बुझाइ छ ।

नेपाल ढुवानी व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले भीसीटीएस लागू गर्ने क्रममा उद्योग र व्यवसायीको वर्गीकरण गर्न नसक्दा समस्या आएको बताए । ‘यो सिस्टमबारे चेतना नफैलाई लागू गर्न खोज्नु दुर्भाग्य हो,’ उनले भने ।

उद्योगी र व्यवसायीहरूसँग छलफल नै नगरी सरकारले भीसीटीएस लागू गर्न खोज्दा आफूहरू आन्दोलित बनेको कटुवालको भनाइ छ । प्रविधि, पूर्वाधार विस्तार, चेतना अभिवृद्धि र उद्योगीहरूको वर्गीकरणपछि मात्रै भीसीटीएस लागू गर्दा प्रभावकारी हुने उनको सुझाव छ ।

मजदूरलाई १ हजार रुपैयाँभन्दा बढी ज्याला भुक्तानी गर्दा  प्यान र बैंक खाता अनिवार्य हुनुपर्ने व्यवस्था र सामान ढुवानीमालगाइएको भ्याट खारेज गरे मात्रै ढुवानी व्यवसायीको आन्दोलन फिर्ता हुने उनको भनाइ छ । ‘ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक रू. ५० हजार र दोस्रो पटक रू. ७५ हजार जरीवाना सहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान भीसीटीएसमा राखिनु गलत हो,’ कटुवालले भने ।

आइतवार निर्णायक छलफल
भीसीटीएस, प्यान र भ्याटका प्रावधानबारे देखिएको विवाद समाधान गर्ने प्रयासस्वरूप अर्थमन्त्री डा. युवराज खतिवडाले आइतवार उद्योगी÷व्यवसायीहरूसँग निर्णायक छलफल गर्दैछन् । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री डा. खतिवडाले उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायत निजीक्षेत्रका संगठनका पदाधिकारीहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने तयारी गरेका हुन् । ‘ढुवानी नै बन्द हुनुलाई अर्थमन्त्रीले महइभ्वका साथ हेर्नुभएको छ, छलफलपछि केही निर्णय लिनु हुनेछ,’ मन्त्री डा. खतिवडाको निजी सचिवालय स्रोतले भन्यो

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)