ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मर्धर सिमसार क्षेत्र : नयाँ पर्यटकीय गन्तव्यको सूचिमा परेपछि धमाधम विकासका काम हुँदै

Jul 21, 2019  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

साउन ५, रौतहट । रौतहटको मर्धर सिमसार क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन विकासका काम धमाधम थालिएको छ । सरकारले पछिल्लो समय सार्वजनिक गरेको देशभरका १०० नयाँ पर्यटकीय गन्तव्यमा समेटिएपछि चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको यो सिमसार क्षेत्रको विकास र विस्तारको काम थालिएको हो ।

अहिले यस क्षेत्रमा सिमांकन गरी ३ ओटा प्रतिक्षालय, ३ ओटा धारा, शौचालय, पार्क तथा पोखरी संरक्षण लगायतका काम अघि बढेका छन् । मेनुका सिमसार बहुउद्देश्यीय नारी समूहले सिमसार क्षेत्रमा निर्माणको जिम्मा पाएको छ । मर्धर सिमसार क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि पहिलो चरणमा करीब रू. ५० लाख बराबरको काम भएको निर्माण समितिका अध्यक्ष विद्या सापकोटाले बताइन् । यस क्षेत्रको विकासका लागि रू. १४ करोड रकम प्रस्ताव गरिएको उनले जानकारी गराइन् । यस क्षेत्रमा मन्दिर, भ्यूटावर, झोलुंगे पुल, पर्खाल, ढुंगा तथा पार्किङ लगायतका संरचना निर्माण हुने उनले बताइन् । बहुउद्देश्यीय योजना अन्तर्गत रहेको यस मर्धर सिमसार क्षेत्रमा करीब ३२ बिगाह जमिन रहेको छ ।

ऐतिहासिक तथा पौराणिक महत्व रहेको सिमसार क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना धेरै रहेको स्थानीय दान बहादुर चौलागाईले बताए । यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास भएपछि यस भेगका बासिन्दामा समेत परिवर्तन आउने उनको भनाइ छ । मर्धर सिमसार क्षेत्र अतिक्रमण हुँदै गएको अवस्थामा पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएपछि अब यसको संरक्षण हुनेमा स्थानीय आशावादी छन् । तत्कालिन समयमा जंगबहादुर राणाले हात्तीलाई पानी खुवाउन ल्याउने गरेको यस स्थानमा आराम गर्नका लागि पनि बेलाबेलामा जंगबहादुर आउने गरेकोे स्थानीय बुढापाकाहरुको भनाइ छ ।

मर्धर सिमसार क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएपछि आर्थिक गतिविधि बढ्ने चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल जयसवालले बताए । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि यस क्षेत्रमा व्यावसायिक लगानी बढ्ने र यस भेगका बासिन्दाको जीवनस्तरमा समेत परिवर्तन आउने उनको भनाइ छ ।

यस स्थानलाई चन्द्रपुर नगरपालिकाले आन्तरिक आयका लागि माछापालनको ठेक्का लगाउने गरेको थियो । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको आधारमा मर्धर सिमसार क्षेत्रलाई नयाँ गन्तव्यको रुपमा छनौट गरेको हो । यस क्षेत्रमा साईवेरियन चरा समेत आउने भएकाले वृक्षारोपण लगायतका कार्य पनि गरिने निर्माण समितिले बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)