ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा कम्पनीमा मोटर बीमाको हिस्सा धेरै

Jul 22, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा सबैभन्दा बढी हिस्सा मोटरबीमाको रहेको छ । अन्य क्षेत्रमा पनि व्यवसाय बढाउन त्यस्ता कम्पनीहरूलाई नियामक निकाय र विज्ञहरूले सुझाउँदै आएका छन् । 

आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो महीना साउनमा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा मोटर बीमाको हिस्सा ३७ प्रतिशत थियो भने आवको ११औं महीना अर्थात् जेठमा यो बढेर ४६ प्रतिशत पुगेको बीमा समितिको तथ्यांकबाट देखिन्छ ।

मोटर बीमालाई सरकारले अनिवार्य गरेको छ । नेपालमा सवारीसाधनको संख्या पनि बढ्दै गएको छ । त्यस अनुसार बीमा बजारमा मोटर बीमाको अंश बढी हुनु स्वाभाविकै हो । आव २०७५/७६ को जेठसम्म निर्जीवन बीमा कम्पनीहरूले रू. २१ अर्ब  ५२ करोड ४७ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । त्यसमध्ये रू. ९ अर्ब ८६ करोड ८१ लाख मोटर बीमाबाट प्राप्त भएको छ ।

कुल व्यवसायमा अग्नि बीमाको अंश भने घट्दै गएको छ । समितिको तथ्यांक अनुसार गत साउनमा अग्नि बीमाको अंश २३ प्रतिशत थियो । तर, जेठसम्म आउँदा यसको अंश ३ प्रतिशतविन्दुले घटेर २० प्रतिशतमा झरेको छ । तथ्यांक अनुसार जेठसम्म अग्नि बीमामार्फत रू. ४ अर्ब ३८ करोड १९ लाख बीमाशुल्क आर्जन भएको छ ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले जनचेतना अभावका कारण अन्य प्रकारका बीमा व्यवसायको विस्तार गर्न कठिनाइ भएको बताए । तर, निकट भविष्यमा कुल व्यवसायमा अन्य प्रकारका बीमा व्यवसायको अंश बढ्ने उनको विश्वास छ । ‘हालै सरकारले दुर्घटना र स्वास्थ्य बीमामा मूल्य अभिवृद्धि कर (भ्याट) छूट दिएको छ । साथै, घर तथा व्यावसायिक भवनको बीमा पहिलेभन्दा ६० प्रतिशत सस्तो हुनेगरी सम्पत्ति बीमा निर्देशिका पनि जारी भएको छ,’ पन्तले भने, ‘अब अन्य प्रकारका बीमा व्यवसाय पनि बढ्ने विश्वास छ ।’

बीमाविज्ञ डा. रवीन्द्र घिमिरेले अन्य प्रकारका बीमा व्यवसायको अंश बढाउन घर, व्यावसायिक भवन तथा इन्जिनीयरिङ बीमालाई अनिवार्य गर्नुपर्ने बताए । त्यस्तो व्यवस्था गर्दा बीमा सेवाको थप विस्तार हुने र व्यवसाय पनि बढ्दै जाने उनको भनाइ छ । हाल नेपालमा २० ओटा निर्जीवन बीमा कम्पनी छन् । ती कम्पनीले अग्नि, मोटर, हवाई लगायत बीमा व्यवसाय गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)