ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रमण वर्ष २०२० का लागि सरकारसँग थप ५० करोड माग

मन्त्रालय भने तयारीप्रति असन्तुष्ट 

Jul 22, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले सरकारले छुट्याएको बजेट कम भएको बताउँदै थप रू. ५० करोड मागेको छ । नेपाल भ्रमण वर्षका लागि अघिल्लो र यस आर्थिक वर्षमा गरी सरकारले रू. २० करोड छुट्याएको थियो ।

सरकारले छुट्याएको रकम भ्रमण वर्षको तयारीका लागि अपुग भएको राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए । ‘नेपाल भ्रमण वर्ष २०११ का लागि सरकारले रू. ३० करोड छुट्याएको थियो । अहिलेको बजेटबाट काम गर्न कठिन छ,’ वैद्यले भने, ‘त्यसैले कम्तीमा रू. ५० करोड थप बजेट माग गरिएको हो ।’

गत आर्थिक वर्षमा विनियोजन गरिएको बजेटबाट चीनको ठूलोमध्येको एक ट्राभल एडभाइजरी अनलाइन ‘सीट्रिप’ र बेलायतको ‘लोन्ली प्लानेट’सँग पर्यटन प्रवद्र्धनका लागि सम्झौता गरिएको वैद्यले जानकारी दिए । ‘सीट्रिप’ का ३ करोडभन्दा बढी ‘फलोअर’ छन् । ‘लोन्ली प्लानेट’ले नेपालको सांस्कृतिक, आध्यात्मिक, साहसिक र ‘वाइल्डलाइफ’ पर्यटनसँग सम्बद्ध चार पुस्तक प्रकाशन गर्ने भएको छ । उक्त संस्था विश्वको ठूलो ‘ट्राभल गाइड’ पुस्तक प्रकाशक हो । दुई विदेशी संस्थासँगको सम्झौता तथा कर्मचारी र सचिवालय व्यवस्थापनमै गत आवको रू. १० करोड सकिएको वैद्यले बताए ।

सरकारसँग थप बजेट मागिरहँदा सचिवालयसँग नेपाल भ्रमण वर्षका लागि उल्लेख्य योजनाको कमी देखिएको छ । राष्ट्रिय कार्यक्रम संयोजक वैद्य भने योजनाहरू तयार पारेर सरकारलाई जानकारी गराइएको दाबी गर्छन् । भन्छन्, ‘हामीले कम बजेटमा पनि काम गरिरहेका छौं ।’

उनका अनुसार भ्रमण वर्षमा पाँच पक्षलाई प्राथमिकता दिइएको छ– सांस्कृतिक, आध्यात्मिक, साहसिक, ‘वाइल्डलाइफ’ र ‘माइस’ (बैठक, सम्मेलन, प्रदर्शनी आदि) पर्यटन । यस्तै, विदेशी लगानी भित्र्याउन ‘पर्यटन लगानी सम्मेलन’, बिमस्टेक पर्यटन मन्त्रिस्तरीय बैठक, कर्णाली नदीमा ¥याप्mटिङ, कालीगण्डकी कोरिडोरमा माउन्टेन बाइक प्रतियोगिता लगायत कार्यक्रम तय गरिएको वैद्यले जानकारी दिए । त्यसबाहेक पर्यटकीय पूर्वाधार र सेवाको गुणस्तर अभिवृद्धि जस्ता कामलाई पनि अगाडि बढाइएको उनी बताउँछन् ।

तथापि, भ्रमण वर्ष सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग सम्बद्ध संस्थाहरू भने सन्तुष्ट देखिँदैनन् । राष्ट्रिय संयोजक वैद्यले सीधा प्रधानमन्त्रीसँग सम्पर्क गरेर आफूहरूलाई बेवास्ता गर्ने गरेको गुनासो मन्त्रालयका अधिकारीहरूको छ । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्रप्रसाद सापकोटा पनि अहिलेको गति र तयारीमा भ्रमण वर्ष मनाउँदा २० लाख पर्यटक भित्र्याउन कठिन हुने बताउँछन् । भन्छन्, ‘भ्रमण वर्षका लागि हुनुपर्ने तयारी, पूर्वाधार विकास र निजीक्षेत्रसँग समन्वयको अभाव देखिन्छ । राम्रो तयारी गरेर भ्रमण वर्षलाई सन् २०२१ मा  सार्दा प्रतिफल राम्रो आउन सक्छ ।’

संयोजक वैद्य भने भ्रमण वर्ष सफल हुने दाबी गर्छन् । ‘तयारीका लागि समय कम छ । तर, यो कुनै व्यक्ति वा सरकारको मात्र नभई सामूहिक काम भएकाले सफल बनाउन सबैको सहयोग आवश्यक छ,’ उनी भन्छन् । 

सरकारले २०७५ चैत २९ मा पोखराबाट भ्रमण वर्ष–२०२० को पूर्वशुरुआत गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने सरकारी लक्ष्य छ । सन् २०१८ मा करीब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सरकारले यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाएको थियो । सन् १९९८ का संयोजक कर्ण शाक्य थिए भने सन् २०११ का संयोजक योगेन्द्र शाक्य । उनीहरू दुवैजना पर्यटन व्यवसायी थिए । हालका संयोजक वैद्य भने उद्योगपति तथा व्यापारी हुन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)