साउन ६, पर्वत । आफ्नै भवन बनाउन नसक्दा पर्वतका स्थानय तहले वर्षेनी लाखौं रुपैयाँको बजेट भाडामा खर्च गर्दै आएका छन् । सात स्थानीय तह र ६१ ओटा वडा रहेको पर्वतमा २ ओटा स्थानीय तहबाहेक अन्यको प्रशासनिक भवन भाडाका घरमा छन् । भवन बनाउने बजेट गत वर्ष पनि खर्च हुन नसकेर फ्रिज भएको छ भने विकास बजेटको ठूलो हिस्सा भाडामा सकिने गरेको छ । विकास बजेट भाडामै सकेको भन्दै सर्वसाधारणले स्थानीय सरकारको आलोचना गर्ने गरेका छन् ।
जलजला गाउँपालिकाले चालू आर्थिक वर्ष गाउँ कार्यपालिकाको भवन बनाउन १ करोड रुपैयाँ र २ ओटा वडा कार्यालयको भवन बनाउन ८० लाख रुपैयाँ विनियोजन गरेको थियो, तर उक्त बजेट फ्रिज भएको छ । गाउँपालिकाले अहिले प्रशासनिक भवन भाडामा लिएबापत वार्षिक ७ लाख ५६ हजार रुपैयाँ भाडामा खर्च गर्दै आएको छ । ‘गतवर्ष भवन बनाउन विनियोजन भएको रकम जग्गा नपाएकाले फिर्ता भयो,’ गाउँपालिकाका प्रवक्ता देबेन्द्रबहादुर भण्डारीले भने, ‘चालू वर्ष पनि नीति तथा कार्यक्रममा भवन बनाउने योजना समावेश छ ।’
कुश्मा नगरपालिकाले जिल्लामा खाली रहेका भवन पाए प्रशासनिक भवन सार्ने जोखाना हेरिरहेको छ, तर पाएको छैन । मासिक ८५ हजार रुपैयाँ भाडा तिरिरहेको नगरपालिकाले गत वर्ष भवन बनाउन बजेट छुट्याएको थिएन । वडा कार्यालयसहितका लागि ७ ओटा भवन बनाउन नगरपालिकाले यसवर्ष बजेट विनियोजन गरेको छ । प्रशासनिक भवन र ४, ५, ६ ७ र ९ वडा कार्यालय भाडाको घरमा छन् । कुश्मा नगरपालिकाको प्रशासनिक भवनको भाडामा १० लाख २० हजार रुपैयाँ खर्च भइरहेको छ भने वडाको ३ लाख रुपैयाँ भाडामा खर्च हुँदै आएको छ । ‘जिल्ला समन्वय समितिको भवन पाए सर्ने योजना थियो,’ प्रशासकीय अधिकृत हरि पंगेनीले भने, ‘त्यो सम्भव देखिएन, जग्गा खोजेर भवन बनाउने योजना अहिलेको नीतिमा समावेश छ ।’ जिल्लाको सबैभन्दा जेठो र सम्पन्न स्थानीय सरकारले जग्गा नपाउँदा भवन बनाउन नपाएको बताउँदै आएको छ ।
मोदी गाउँपालिकाले आफ्नै भवन बनाउन गतवर्षबाटै काम शुरु गरेको छ । अर्को वर्षसम्म भवन बनाइसक्ने गाउँपालिकाको योजना छ । मोदीले वार्षिक ८ लाख ४० हजार रुपैयाँ भाडामा खर्च गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए । वडाको भाडा ४८ हजार रुपैयाँ रहेको छ ।
जिल्लाको पैयुँ गाउँपालिकाले पनि जग्गा नपाएको कारण अहिलेसम्म भवन बनाउन सकेको छैन । भाडाको घरमा ५ लाख ४० हजार रुपैयाँ खर्च हुँदै आएको छ । अर्को वर्ष भवन बनाउने योजनामा रहेको पैयुँले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भवन बनाउने जग्गा पाएपनि पास भएको छैन् । कहाँ केन्द्र बनाउने भन्ने गाउँ सभाको निर्णय नहुँदा भवन बनाउने योजना अगाडी बढ्न नसकेको अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिए । ‘दुई ठाउँबाट जग्गा प्राप्त भएको छ,’ तिवारीले भने, ‘अहिलेको केन्द्र सार्न बहुमतको निर्णय आवश्यक पर्ने भएकाले निर्णय अड्किएको छ ।’
बिहादी गाउँपालिका पनि भाडाकै घरमा छ । विहादी गाउँपालिकाको केन्द्र बनाउन प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, प्रशासनिक भवन अहिले वडा ४ बहाकीठाँटीमा छ । प्रदेशले वडा ३ ईमीचौरमा भवन बनाउने उल्लेख गर्दै बजेट पठाएको छ । स्थानको विवादले बिहादीको भवन बनाउने योजना अलपत्र छ । अहिले गाउँपालिकाले भाडामा ३ लाख ६० हजार रुपैयाँ खर्च गर्दै आएको छ ।
फलेवास नगरपालिकाको भवन गतवर्षसम्म भाडामै थियो । जल उपभोक्ता समितिको खाली रहेको भवनमा सरेपनि फलेवास नगरपालिकाले केही शाखा कार्यालयका लागि वार्षिक ३ लाख ३६ हजार रुपैयाँ भाडा तिर्ने गरेको छ । महाशिला गाउँपालिका साविक वालाकोट गाविसको भवनलाई प्रशासनिक भवन बनाएर काम चलाइरहेको छ । ती शाखाको भाडा वार्षिक १ लाख रुपैयाँ तिर्दै आएको छ ।