ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ वर्षपछि चीनसँग हवाई सेवा सम्झौता पुनरवलोकन हुँदै

साउन ९ र ११ गते पेचिङमा वार्ता

Jul 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल र चीनबीच ५ वर्षपछि हवाई सेवा सम्झौता पुनरवलोकन हुने भएको छ । साउन ९ र १० गते चीनको राजधानी पेचिङमा हुने वार्ताका लागि नेपाली टोली मंगलवार चीन जाँदै छ । वार्तामा दुवै देशको हवाई सेवा, आपसी सहयोग, उडान संख्या लगायत विषयमा छलफल हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । चीनसँग सन् २०१४ मा नेपालमा पछिल्लो हवाई सम्झौता भएको थियो । 

यस वार्तामा विशेषगरी चीनले माग गरेको नयाँ स्लटको विषय, नेपाली जहाज उडानलाई चीन ट्रान्जिट बनाएर अन्यत्र जाने अनुमति, कैलाश मानसरोवरमा माउन्टेन फ्लाइट उडान तथा नेपाली उड्डयन क्षेत्रमा तालीम तथा अन्य सहयोग आदानप्रदानका विषयमा छलफल हुनेछ । 

‘नेपाल–चीनबीच यसअघि प्रतिमहीना ७० उडान गर्न पाउने सम्झौता रहेको छ । हाल चीनबाट नेपालमा ५० भन्दा बढी उडान हुने गरे पनि नेपाली जहाज भने चीनमा उडान गर्न नपाएकाले त्यसलाई सहजीकरण तथा नयाँ उडान संख्याका बारेमा वार्ता हुनेछ,’ सचिव सापकोटाले भने ।

चीनसँग वार्ता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरिएको छ । टोलीमा मन्त्रालयकै कानून हेर्ने उपसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगम तथा हिमालय एयरलाइन्सका प्रतिनिधि र चीनस्थित नेपाली दूतावासका सहसचिव लगायतको सहभागिता रहने मन्त्रालयले जानकारी दिएको छ । सरकारले पुनरवलोकन समझदारी पत्रमा हस्ताक्षर गर्ने अधिकार संयोजकलाई प्रत्यायोजन गरेको छ । संयोजक आचार्यले चीनले अघिल्लो सम्झौता अनुसार नै करीब सबै उडान गरेकोले नयाँ स्लट दिनु परे काठमाडौंपछि निर्माणाधीन गौतमबुद्ध र पोखरा विमानस्थलमा जान सक्नेगरी सम्झौता हुने बताए । 

नेपालले यसअघिको वार्तामा पनि मानसरोवरमा माउण्टेन फ्लाइटको विषय उठान गरे पनि चीनले प्राविधिक समस्या देखाउँदै नेपाली प्रस्ताव अस्वीकार गरेको थियो । उसले ५ वर्षअघि सो क्षेत्रमा आन्तरिक विमानस्थल बनाएर पछि यस विषयमा सल्लाह गर्न सकिने बताएको र हाल सो क्षेत्रमा आन्तरिक विमानस्थल बनेकाले यो विषयलाई पनि प्राथमिकतामा राखिएको आचार्यले बताए । 

मानसरोवर भारतीय धनाढ्य तीर्थयात्रीहरूको रोजाइको क्षेत्र भए पनि भौगोलिक विकटताले धेरै पर्यटक त्यहाँ जान सक्दैनन् । यो सहमति भएमा नेपालको धार्मिक पर्यटनमा टेवा पुग्ने उनले बताए । चीनको सम्झौता पुनरवलोकनले नेपाली उडानलाई थप सहज हुने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।     

नेपालको तर्फबाट नेपाल वायुसेवा निगमले चीनमा उडानका लागि सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी) सँग उडान अनुमति माग गरेको छ । निगमले चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्रहरू क्वाङचाऊ र साङहाईमा उडान गर्ने योजना बनाएको छ । अहिले चीनका पाँचओटा एयरलाइन्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सातामा ५४ ओटा उडान गरिरहेका छन् । नेपाली वायुसेवा कम्पनीहरूले भने हालसम्म चीन उड्न पाएका छैनन् । हाल ३९ देशसँग हवाई सम्झौता गरेको नेपालले थप तीन देशसँग हवाई सम्झौताको पनि तयारी गरेको छ । सरकारले २०७५ मङ्सिर १४ गते पछिल्लोपटक कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । यसअघि सरकारले २०७५ मङ्सिरमा थाइल्यान्डसँग र जापानसँग हवाई सम्झौताको नवीकरण गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)