धनगढी । आर्थिक वर्ष २०७५/७६ मा कैलाली भन्सार हुँदै रू. २१ अर्ब ६३ करोडबराबरको विभिन्न वस्तु भित्रिएको छ । यसबाट रू. ५ अर्ब १९ करोड राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकृत गोपीकृष्ण उप्रेतीले जानकारी दिए । कार्यालयका अनुसार उक्त अवधिमा निर्यात भने रू. ७८ करोड ७२ लाखबराबरको भएको छ । वस्तु निर्यातबाट रू. १५ लाख २५ हजार राजस्व असुली भएको छ ।
आयातित वस्तुमध्ये रू. २ अर्ब २८ करोड ६८ लाखबराबरको चामल, गहुँ र मकै रहेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार खाद्य सामग्रीको आयातबाट रू. १२ करोड २० लाख राजस्व संकलन भएको छ ।
भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई गत आवमा ५ अर्ब २२ करोड १३ लाख ४६ हजार राजस्व संकलनको लक्ष्य तोकेकोमा ५ अर्ब १९ करोड ७५ लाख १९ हजार मात्र संकलन भएको देखिन्छ । भारतबाट तरकारीको आयात रोकिनुका साथै छोटी भन्सार कार्यालय अलग भएकाले राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकिएको सूचना अधिकृत उप्रेतीले बताए ।
गत आवमा कैलाली भन्सारबाट कृषि प्रयोजनका ट्र्याक्टर ६६३ ओटा आयात भएको छ । यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम, खाद्य र सुर्तीजन्य पदार्थ बढी आयात हुने गरेको छ । निर्यात हुने वस्तुमा भने टर्पेनटाइन र रोजिन मात्र रहेको सूचना अधिकारी उप्रेतीले जानकारी दिए ।