ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतको स्वास्थ्य क्षेत्रमा बेथिति बढ्दो

औषधि पसल र ल्याब अवैध रूपमा सञ्चालन

Jul 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आकाश तारा बयक

सुर्खेत । नियमनकारी निकायको बेवास्ता र उपभोक्तामा सचेतनाको अभावले सुर्खेतको स्वास्थ्य क्षेत्रमा बेथिति बढेको छ । सदरमुकाम वीरेन्द्रनगरमै कानूनी प्रक्रिया र मापदण्ड पूरा नगरी सञ्चालित औषधि पसल र प्रयोगशाला (ल्याब) को बढ्नुले यस क्षेत्रमा विकृति देखिएको हो । अवैध रूपमा सञ्चालित यस्ता संस्थालाई नियमनकारी निकायले कारबाही नगरेको स्थानीयको गुनासो छ ।

स्थानीय प्रशासनको नेतृत्वमा हुने गरेको बजार अनुगमन समेत औपचारिकतामा सीमित बनेको स्थानीयको आरोप छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयदेखि करीब डेढ किलोमिटर नजीकै वर्षौंदेखि दर्ता नगरी ल्याब सञ्चालनमा छ । तर, अवैध रूपमा सञ्चालित यस्ता ल्याबलाई कानूनी दायरामा ल्याउन नियमनकारी निकायले बेवास्ता गर्दै आएको छ । 

पछिल्लो समय सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा फणीन्द्रमणि पोखरेल सरुवा भएपछि बजार अनुगमन थालिएको छ । परिणाम स्वरूप जिल्ला संयुक्त बजार अनुगमन टोलीले सदरमुकाम वीरेन्द्रनगरमा अवैध रूपले सञ्चालित क्लिनिक, ल्याब तथा फार्मेसीलाई शिलबन्दी अभियान शुरू गरेको छ ।
 
पाँच ल्याबमा शिलबन्दी
गत आइतवार गरिएको अनुगमनमा निजी क्लिनिकले मापदण्ड विपरीत सञ्चालन गरेका ५ ओटा प्रयोगशाला शिलबन्दी गरिएको अनुगमन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए । उनले प्रयोगशाला सञ्चालनका लागि आधारभूत मापदण्ड समेत पूरा नगरी सञ्चालन गरिएको पाइएकाले शिलबन्दी गरिएको बताए । गैरकानूनी तवरले सञ्चालित रम्बादेवी स्वास्थ्य क्लिनिक तथा निरु फार्मेसी, बोहरा पोलिक्लिनिक, कर्णाली मेडिकल हल तथा प्याथोलोजी, राना पोलिक्लिनिक तथा डाइनोस्टिक र शिवविहार मेडिकल हलमा शिलबन्दी गरिएको छ । 
उनका अनुसार बाँकी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गम्भीर खेलबाड भएको पाइयो,’ उनले भने, ‘सेवाग्राहीले मूल्य तिर्दा समेत औषधि व्यवसायीले उपभोक्ताको स्वास्थ्यप्रति लापरबाही गरेको देखिन्छ ।’ उनले कानून विपरीत सञ्चालित औषधि पसल तथा क्लिनिकमा अब कडाइका साथ नियमन गरिने जानकारी दिए । 

बजार अनुगमन समितिका अर्का सदस्य तथा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले अनुगमन गरिएका क्लिनिक तथा फार्मेसीमा पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधि विक्री गरेको र ल्याब सञ्चालनका लागि आवश्यक पूर्वाधार नै तयार नगरी जाँच हुने गरेको पाइएको बताए ।

‘१५ दिन पहिले अनुगमनका क्रममा औषधि पसल तथा क्लिनिकहरू अवैध रूपमा सञ्चालन भइरहेको तथ्य फेला परेको थियो,’ उनले भने, ‘ती औषधि पसल तथा क्लिनिकहरूले सरकारी निकायमा दर्ता नै नगरी प्रयोगशाला सञ्चालन भइरहेको प्रमाणित भएपछि विभागको निर्देशनमा हामीले शिलबन्दी गरेको हौं ।’ उनले अवैध औषधि पसल तथा क्लिनिकमाथि अब निरन्तर कडाइका साथ अनुगमन गरिने बताए । आइतवार अनुगमन टोलीले कडाइका साथ अनुगमनमा उत्रिएपछि केही क्लिनिक तथा औषधि पसल व्यवसायीहरू सटर बन्द गरी फरार भएका थिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)