ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्तर–दक्षिण कोरिडोर  : कोशी र कालीगण्डकी ४ वर्षभित्र बनिसक्ने

Jul 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । देशको व्यापार र पारवहनमा रणनीतिक महत्त्व राख्ने तीनओटा कोरिडोर (उत्तर–दक्षिण व्यापारिक मार्ग) को निर्माण सम्पन्न हुन अझै केही वर्ष लाग्ने भएको छ । यीमध्ये कोशी कोरिडोर अब २ वर्षभित्र र कालीगण्डकी कोरिडोर ४ वर्षभित्र बनाइसक्ने लक्ष्य राखिएको छ । कर्णाली कोरिडोर भने कहिले बनिसक्छ भन्ने अनिश्चित रहेको ‘उत्तर–दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय’ले बताएको छ । 

सरकारले चीन नाकासम्म व्यापारिक सम्बन्ध विस्तारका साथै  उत्तरी क्षेत्रको पर्यटन, कृषि र औैद्योगिक विकासका लागि यी तीन कोरिडोर निर्माण कार्य अगाडि बढाएको हो । तीनओटै कोरिडोर नेपाल–चीन सीमासम्म पुग्छन् । २०७२ सालमा भारतीय नाकाबन्दीका कारण दक्षिणी नाकाहरू ४ महीना अवरुद्ध हुँदा मुलुकको  व्यापार विविधीकरणका लागि चीनतर्फ नाका सञ्चालन गर्न पनि यी कोरिडोर शीघ्र निर्माणको आवश्यकता देखिएको थियो । 
 
सरकारले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राखेका यिनको निर्माणको जिम्मा सडक विभाग र नेपाली सेनाले लिएका हुन् । आर्थिक वर्ष २०६५/६६ देखि बन्न शुरू भएका यी सडकले नेपालको व्यापार र पारवहनमा विविधीकरण गर्न सघाउने र चीनसँगको पारवहन तथा व्यापार सन्तुलनमा सहजीकरण गर्ने ठानिएको छ । चालू आर्थिक वर्ष २०७६/७७ मा तीन कोरिडोरका लागि रू. ५ अर्ब बजेट विनियोजन गरिएको छ ।

कोशी कोरिडोर 
खाँदबारीबाट शुरू भएर किमाथांका पुग्ने कोशी कोरिडोरको लम्बाइ १६२ किलोमीटर (किमी) रहेको छ । यसमध्ये १४८ किमी ट्र्याक खुला भइसकेको छ भने ५० किमी ग्राभेल भएको छ । कोशी कोरिडोरका भागमा यस वर्ष रू. ९५ करोड बजेट परेको छ । निर्देशनालयका अनुसार नौओटा पुल निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको छ । 

कालीगण्डकी कोरिडोर
गैंडाकोटबाट शुरू भएर कोरला पुग्ने कालीगण्डकी कोरिडोरको लम्बाइ ४३५ किमी रहेको छ । यसमध्ये ४३० किमी ट्र्याक खुलिसकेको छ भने ७५ किमी ग्राभेल भएको छ । बेनी–जोमसोम–कोरला खण्डको १८६ किमी कालोपत्र समेत भइसकेको छ । कालीगण्डकी कोरिडोरका भागमा यस वर्ष रू. २ अर्ब ९५ करोड बजेट परेको छ । निर्देशनालयका अनुसार पाँचओटा पुल निर्माण भइसकेका छन् । 

कर्णाली कोरिडोर
खुलालु–सल्लिमल्लाबाट शुरू भएर सिमिकोट–हिल्सा पुग्ने कर्णाली कोरिडोरको कुल लम्बाइ २९५ किमी हो । यसमध्ये हालसम्म २२० किमी ट्रयाक खुला भएको छ । कर्णाली कोरिडोरका भागमा यस वर्ष रू. १ अर्ब १० करोड बजेट परेको छ । कोरिडोरका कामु परियोजना निर्देशक शशांक मिश्रका अनुसार हिस्सा–सिमिकोट खण्डमा ४०० मीटर ट्र्याक खोल्न बाँकी रहेको छ र त्यो काम साउन अन्तिमसम्ममा सकिनेछ । केही खण्ड (याल्वाङगौडा र च्याछाडा) मा कडा चट्टानको भीर हुँदा ट्र्याक खोल्न समस्या भएको उनको भनाइ थियो । कालीगण्डकी कोरिडोर परियोजना निर्देशक मुकुन्द अधिकारीले उचाइ र भौगोलिक कठिनाइका कारण तीव्रगतिमा काम अघि बढाउन समस्या भएको जानकारी दिए । उपल्लो क्षेत्रमा कात्तिकदेखि चैतसम्म काम गर्न निकै चुनौती भएको र त्यस क्षेत्रमा कामदार पनि नपाइने उनले बताए ।

आयोजना निर्देशक शिव नेपालले जटिल भौगोलिक अवस्था भएकाले कर्णाली कोरिडोर यही अवधिमा पूरा हुन्छ भन्न सकिने अवस्था नभएको बताए । उनले भने, ‘कोरिडोरबाट उत्तरतिरका तीनओटै पोइन्ट हिल्सा, किमाथांका र कोरलालाई जोड्ने हो । यसले चीनबाट आयात हुँदा ढुवानी तथा लागतमा कमी आउनेछ र नेपालबाट वस्तुहरू निर्यात पनि सहज हुनेछ ।’ शुरूमा निर्यात नभए पनि आयात गर्दा लागत घट्ने हुँदा व्यापार सन्तुलन तथा सहजीकरण हुने नेपालको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)