काठमाडौं । नेपाल–चीन व्यापारको एक प्रमुख नाका रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको छ । नाकाबाट तीन किलोमिटर नेपालतर्पm टिमुरे भन्ने स्थानमा बन्दरगाह निर्माण गर्न लागिएको हो । हाल प्रारम्भिक चरणको काम भइरहेको र वर्षात् रोकिएसँगै बन्दरगाहको निर्माण थालिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । थालिएको ३० महीनामा निर्माण सम्पन्न गर्ने समयावधि तोकिएको छ ।
नाकामा चीनतर्फ भन्सार कार्यालय सहित सुक्खा बन्दरगाहको व्यवस्था पूर्णरूपमा सञ्चालनमा रहेको छ । नेपालतर्फ भने नाकाबाट वारपार हुने वस्तुको परीक्षण मात्रका लागि सरकारले हालै सामान्य भवनको निर्माण थालेको छ । यसबाहेक भन्सार कार्यालय, बन्दरगाह, गोदाम लगायतका सम्पूर्ण संरचना भने टिमुरेमै रहने मन्त्रालयले जानकारी दिएको छ । कुल ४ दशमलव ६ हेक्टर क्षेत्रफलमा बन्ने बन्दरगाहको प्रमुख संरचनाका रूपमा ५ हजार वर्गफिट क्षेत्रफल ओगटेको पाँचतले भवन हुने मन्त्रालयले जानकारी दिएको छ ।
आवश्यक संरचनाको अभावमा दुई देशबीच हुँदै आएको व्यापारलाई व्यवस्थित गर्न सकिएको छैन । त्यसैले दुई देशबीचको व्यापारलाई व्यवस्थित तथा एकरूप गर्न नेपालतर्फ पनि बन्दरगाह निर्माण गर्न लागिएको मन्त्रालयको चीन हेर्ने दुईपक्षीय व्यापार तथा पारवहन शाखा प्रमुख पार्वती अर्यालले जानकारी दिइन् ।
चीन सरकारको अनुदानमा बन्न लागेको बन्दरगाह निर्माणका लागि चीन सरकारले ‘टिबेट फुली कन्स्ट्रक्शन कम्पनी’ छनोट गरेको छ । बन्दरगाह निर्माणमा आवश्यक सहजीकरण गर्ने गरी गएको मे १२ (वैशाख २९) मा सो कम्पनी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको ‘नेपाल इन्टरमोडल यातायात विकास समिति’बीच सम्झौता भइसकेको छ । उक्त आयोजनामा काम गर्ने ३८ जना चिनियाँ कामदारको भिसा प्रक्रियाका लागि सहजीकरण गरिरहेको समितिका इन्जिनीयर प्रमोद आचार्यले जानकारी दिए ।
यसबाहेक, बन्दरगाह निर्माणस्थल खाली गराउन हाल चारजना कामदार खटिइसकेको र उनीहरूले प्रारम्भिक चरणको काम गरिरहेको आचार्यले जानकारी दिए । उनले भने, ‘आवेदन दिएका ३८ जनाको भिसा प्रक्रिया पूरा भएपछि उनीहरू आउने, आवश्यक उपकरण तथा सामग्री ल्याउने र निर्माण कार्य अघि बढाउने काम हुन्छ ।’
हाल सञ्चालनमा रहेको उक्त नाकाको बन्दरगाह निर्माणका लागि निर्माणस्थलमा रहेका सामग्री हटाउनुपर्ने मन्त्रालयको चीन हेर्ने शाखा प्रमुख अर्यालले बताइन् । ‘तातोपानी नाका बन्द भएदेखि यही नाकाबाट नेपाल–चीनको सोझो व्यापार चलिरहेको छ,’ अर्यालले भनिन्, ‘यहाँ बन्दरगाह निर्माण गर्न त्यहाँ रहेका ट्रकका साथै अन्य सामग्री र संरचना पनि हटाउनुपर्ने हुन्छ ।’
२०७२ को भूकम्पले तातोपानी नाकाबाट हुने नेपाल–चीन व्यापारमार्ग प्रभावित गरेपछि यही नाका यी दुई देशबीचको सोझो व्यापारको प्रमुखद्वारका रूपमा रहेको छ । सो नाकामा रहेको चीनतर्फको भन्सार कार्यालय पहिले नै सञ्चालनमा आइसकेको थियो । तातोपानी नाकास्थित नेपालतर्पmको भन्सार कार्यालय पनि चीनकै सहयोगमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । तर, रसुवागढी नाकाबाट हुँदै आएको व्यापार पूर्णरूपमा तातोपानी नाकातर्पm मोडिइ नसकेका कारण बन्दरगाह निर्माणका लागि उक्त नाका खाली गर्न लागिएको हो । ‘यस नाकाबाट हुँदै आएको दुईदेशीय व्यापार पूर्णरूपमा तातोपानी नाकातर्फ डाइभर्ट गरेपछि मात्रै यस नाकामा बन्दरगाह निर्माणको काम अघि बढ्न सक्छ,’ अर्यालले भनिन् ।
रसुवागढी प्राचीनकालमा नेपाल र भोट (तिब्बत)बीचको व्यापारको प्रमुख नाका रहेको थियो । यो नाका लिच्छवी तथा मल्लकालमा नेपाल र भोटबीच व्यापार तथा अन्य गतिविधि सञ्चालनको मार्ग पनि मानिन्छ ।