ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ८ अर्बको लगानीमा ‘द हब लुम्बिनी’ आउँदै

Jul 28, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । भैरहवामा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइरहँदा लुम्बिनी वरपर पर्यटकीय पूर्वाधारमा लगानी गर्ने क्रम तीव्र भएको छ । यसै क्रममा निर्माण तथा पर्यटन क्षेत्रका व्यवसायीहरूको संयुक्त लगानीमा लुम्बिनी नजिकै रू. ८ अर्बको ‘द हब लुम्बिनी’ प्रोजेक्ट शुरू गरिँदै छ । एस होटेल्स एन्ड रिसोर्ट, सीई कन्स्ट्रक्शन प्रालि र ग्रान्डी होल्डिङस् मार्फत ४० लगानीकर्ताको लगानी रहने यो प्रोजेक्ट करीब ९० रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । 

लुम्बिनीलाई पर्यटकीय पूर्वाधार सम्पन्न पर्यटन गन्तव्यका रूपमा विकास गर्ने मुख्य लक्ष्यले २ वर्षको गृहकार्यपछि ‘द हब लुम्बिनी प्रालि’ स्थापना गरिएको प्रोजेक्टका योजनाकार तथा एस होटेल तथा रिसोर्ट प्रालि (होटेल एम्बास्डर) का कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले बताए । ‘पर्यटन तथा अन्य कुनै गन्तव्य विकास गर्न संयुक्त लगानी आवश्यक हुन्छ भन्ने सोचले ‘द हब लुम्बिनी’को अवधारणा अगाडि सारिएको हो,’ शाक्य बताउँछन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुदाबजारमा निर्माण हुन लागेको यस प्रोजेक्टको गुरुयोजना अनुसार दुईओटा तारे होटेल, अपार्टमेन्ट, मल्टीप्लेक्स, वाटरपार्कका साथै दर्जनौं रेस्टुराँ स्थापना हुनेछन् ।

भैरहवा–लुम्बिनी राजमार्गबाट ५ किलोमीटरको दूरीमा रहने यस प्रोजेक्टको सम्पूर्ण निर्माण कार्य दुई चरण गरी आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

प्रोजेक्टमा जग्गामा मात्रै रू. ३५ करोड लगानी भइसकेको छ । कम्पनीका प्रवर्द्धकहरूले सो क्षेत्रमा भएको ‘पपर्टी’मा लगानी तथा विक्री गर्ने योजना बनाएका छन् । अहिले अपार्टमेन्ट निर्माणका लागि नक्सांकनको काम भइसकेको छ । पहिलो चरणमा होटल, मल्टीप्लेक्स, रेस्टुराँ, वाटरपार्क, सम्मेलन केन्द्र लगायत संरचना निर्माण हुनेछन् । दुई होटलमध्ये होटल शाक्यमुनि चारतारे स्तरको रहेको छ, जसको निर्माण तथा सञ्चालन शाक्यको कम्पनी एस होटेल्सले गर्दै छ । काठमाडौं र पाटनका शाक्यहरूको संस्कृति र जीवनशैलीको अवधारणामा बन्ने उक्त होटेलमा १०० कोठा हुनेछन् । त्यस्तै अर्को होटल, द हब होटल कम्पनीले आफैले बनाएर विक्री गर्ने वा अन्य पक्षलाई जग्गा विक्री गरी उसैलाई बनाउन दिने भन्ने विषयमा प्रारम्भिक छलफल भइरहेको कम्पनीका प्रवर्द्धकहरूले बताए । 

भैरहवाको पहिलोे पाँचतारे होटेल पवन प्यालेसनजिकै बन्न लागेको ‘द हब लुम्बिनी’मा माया प्लाजा नाम दिइएको मल्टीप्लेक्समा सपिङ सेन्टर, सिनेमा हल, पार्टी हल, फुड कोर्ट तथा अफिस स्पेस रहने छ ।  

द हब लुम्बिनीका प्रवर्द्धकहरू यो प्रोजेक्टको निर्माणसँगै लुम्बिनी घुम्न आउने पर्यटकहरूको बसाइ लम्बिने अपेक्षा राख्छन् । अहिले लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वर्षेनि बढ्दै गए पनि उनीहरूको बसाइ र गर्ने खर्च उल्लेख्य रूपमा बढ्न सकेको छैन । पर्यटन मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी आउने ९० प्रतिशत पर्यटक त्यहाँ मुश्किलले १ घण्टा बिताउँछन् । स्तरीय पर्यटकीय पूर्वाधारको कमीका कारण पर्यटकहरूको बसाइ ज्यादै छोटो हुने गरेको पर्यटनविज्ञहरूको भनाइ छ । 

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा स्वदेशी र विदेशी पर्यटक गरी १५ लाख १७ हजारले लुम्बिनी भ्रमण गरेका थिए । तीमध्ये ११ लाख ५५ हजार नेपाली, १ लाख ९३ हजार भारतीय र १ लाख ६९ हजार तेस्रो मु्लुकका थिए । लुम्बिनी भ्रमण गर्न आउने तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन र भियतनामका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)