ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अवरोधले थलिए गौरवका आयोजना

Jul 29, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
पर्वतमा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजना । तस्वीर : आर्थिक अभियान
author avatar रोशन तिवारी

पर्वत । सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाअन्तर्गत पर्वत खण्डमा पटकपटक अवरोध हुँदा निर्माण सुस्त देखिएको छ । सरकारी निकायबीच नै समन्वय हुन नसक्दा जिल्लामा सडक, जलविद्युत् आयोजना र प्रसारण लाइनजस्ता राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ हुँदै आएको छ ।

राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी लोकमार्गले सधैं अवरोध खेप्दै आएका छन् । वन कार्यालयले निर्माण सामग्री उत्खनन गर्न नदिँदा मध्यपहाडी लोकमार्गको काम अगाडि बढ्न सकेको छैन । ‘मनसुन शुरू नहुँदै पर्वत खण्ड छिचोल्ने लक्ष्य थियो,’ मध्यपहाडी लोकमार्गका आयोजना कार्यालयका प्रमुख आशीष थापा मगरले भने, ‘प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भएका अवरोधले कामले गति लिन सकेन ।’ उनले कुन कुन निकायले अवरोध गरे भन्नेबारेमा भने खुलाउन चाहेनन् । 

सदरमुकाम कुश्मामा खानेपानी संस्था, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले सहयोग नगर्दा आयोजनाले गति लिन नसकेको सर्वसाधारणहरू बताउँछन् । असार मसान्तसम्म पर्वत खण्डको ७० प्रतिशत काम सक्ने योजना बनाएको मध्यपहाडी लोकमार्गको प्रगति ५५ प्रतिशत मात्रै छ । 

वनले रूख कटानको अनुमति नदिँदा कालीगण्डकी कोरिडोरको काम पनि रोकिएको छ । रूख कटानका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ । २०७३ असोजमा शुरू भएर २८ महीनामा काम सक्ने लक्ष्य राखिएको कोरिडोर अन्तर्गतको प्रसारण लाइनको काम अझै ७० प्रतिशत कट्न सकेको छैन । २०७१ मंसिरमा शुरू भई २०७५ असार मसान्तभित्र उत्पादन दिने योजनासहित अघि बढेको मध्यमोदी जलविद्युत् आयोजनाको प्रगति पनि ७० प्रतिशत पुगेको छैन । २०६९ मा शुरू भई ०७४ भित्रै उत्पादन दिने गरी शुरू भएको तल्लो मोदी जलविद्युत् आयोजनाले अझै उत्पादन गर्न सकेको छैन । 

युनाइटेड मोदी–२ आयोजना स्थानीयकै कारण स्थगित भएको निर्देशक उपेन्द्र गौतमले जानकारी दिए । ‘स्थानीयको अवरोधले धेरै पटक आयोजनाको काम रोकियो,’ गौतमले भने । पछिल्लो समय स्थायी जागिर खोज्दै आयोजनामा कार्यरत मजदूरहरूले आयोजनाको काम रोकेका छन् । पटक पटकको अवरोधले उक्त आयोजना थलिँदै गएको छ । 

मोदीखोलामा उत्पादित विद्युत् कास्की हुँदै राष्ट्रिय प्रसारण लाइनमा पठाउन केही महीनाअघि शुरू भएको मोदी–लेखनाथ प्रसारण लाइन निर्माण पनि रोकिएको छ । टावर रहने स्थानमा मोदी गाउँपालिकाकै स्थानीयको अवरोधले आयोजना अघि बढ्न नसकेको हो । पर्वतको मोदीखोला र कास्कीका सेती र मर्दीमा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाउने गरी १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माण शुरू भएको केही समयमै अवरोध भएपछि बाँकी काम अघि बढाउन समस्या भएको छ ।

निर्माणाधीन जलविद्युत्मध्ये सबैभन्दा बढी स्थानीयको अवरोध मध्यमोदी जलविद्युत् आयोजनाले खेप्नुपरेको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले बताए । राज्य र निजी क्षेत्रबाट अर्बौं लगानी भएका ठूला आयोजनामा भएको अवरोध हटाउन स्थानीय प्रशासनले प्रयास गर्दै आएको दाबी गरेको छ । आयोजनामा कुनै समस्या भएमा सहजीकरण गर्दै आएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिइन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)