ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक विमानस्थलका लागि काभ्रेमा जग्गा खोजी

Jul 29, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
अघिल्लो पटक वैकल्पिक आन्तरिक विमानस्थलका लागि स्थलगत अध्ययन गरिएको काभ्रेको नागी डाँडाको फाइल तस्वीर
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (आव) को बजेटमा काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गर्ने विषय समावेश गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका लागि जग्गा खोज्ने भएको छ । यसअघि प्राधिकरणले काभ्रेकै दुई ठाउँमा विमानस्थलका लागि स्थलगत अध्ययन गरेको भए पनि त्यो कुरा त्यसै सेलाएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई ट्राफिक चाप घटाउन काठमाडौं नजीकै वैकल्पिक आन्तरिक विमानस्थल चाहिनेबारे लामो समयदेखि चर्चा हुँदै आएको छ । वैकल्पिक विमानस्थल भएमा देशको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको चाप २० देखि २५ प्रतिशतसम्म घट्न सक्ने अनुमान छ । सरकारले बजेट मार्पmत नै काभ्रेमा आन्तरिक विमानस्थल निर्माणको कुरा उठाएपछि आन्तरिक विमानस्थलको कुरा पुनः ब्यूँतिएको हो ।

स्वर्गीय रवीन्द्र अधिकारी पर्यटन मन्त्री रहेको बेला प्राधिकरणले काभे्रको नागीडाँडा र ठूलीचौरमा विमानस्थलको सम्भाव्यताबारे स्थलगत अध्ययन गरेको थियो । दुवै स्थानमा ८ देखि १२ सय मीटर धावनमार्ग हुने विमानस्थल बनाउन सकिने र त्यसका लागि ४ देखि ५ अर्ब रुपैयाँ खर्च लाग्ने विज्ञहरूले बताएका थिए । 

तर, त्यसपछि त्यो कुरा सेलायो । सन् २०७६ भित्रै भैरहवामा गौतम बुद्ध विमानस्थल तयार हुने, आव २०७५/७६ भित्रै त्रिभुवन विमानस्थलको स्तरोन्नति भइसक्ने र २०७७/७८ सम्ममा पोखरा क्षेत्रीय विमानस्थल पनि तयार हुने भएकाले तत्काल काठमाडौं नजिक वैकल्पिक विमानस्थल आवश्यक नभएको उड्डयन क्षेत्रका विज्ञहरूले सुझाव दिए । यसैगरी, संसदीय समितिले पनि काभे्रमा विमानस्थल आवश्यक नरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

यसपालि बजेटमा पुनः विमानस्थलको कुरा परेपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले  काठमाडौं नजीकै वैकल्पिक आन्तरिक विमानस्थल राष्ट्रिय आवश्यकता भएको बताएका छन् । ‘काठमाडौं नजीकै अर्को वैकल्पिक विमानस्थल चाहिन्छ भन्ने विषयमा कुनै विवाद छैन । गौतम बुद्ध वा पोखरा जुन विमानस्थल बने पनि काठमाडौं नजीकको आवश्यकता ती विमानस्थलले पूरा गर्दैनन् । त्यसैले सरकारले वैकल्पिक विमानस्थल निर्माणको कुरा गरेको हो,’ उनले भने ।

उनले विमानस्थलका लागि जग्गा छनोट भएपछि मात्र कसरी, कति खर्च र कुन मोडलमा बनाउने भन्ने निर्णय हुने जानकारी दिँदै राजधानीदेखि नजीक र अन्य दृष्टिकोणले पनि आन्तरिक विमानस्थलका लागि काभ्रे उपयुक्त स्थान भएको बताए ।

सरकारले बजेट मार्फत कार्यक्रम ल्याएपछि नागरिक उड्डयन प्राधिकरण पनि उपयुक्त जग्गाको विषयमा अध्ययन गरिरहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आर्थिक अभियानलाई बताए । यसअघि अध्ययन भएकामध्ये सम्भवतः बनेपा नजीकैको ठूलीचौर उपयुक्त स्थान हुन सक्ने उनको भनाइ थियो । 
‘अहिले त्रिभुवन विमानस्थलको रनवे रिह्यावको काम हुँदा आन्तरिक उडानलाई रामेछापमा सारियो ।

हामीसँग अर्को विकल्प पनि थिएन । तर रामेछाप वैकल्पिक विमानस्थलका लागि टाढा छ । खासगरी माउण्टेन प्mलाइट र अन्य आन्तरिक उडानका लागि राजधानी नजीकै विमानस्थल आवश्यक हुन्छ,’ पोखरेलले भने । प्राकृतिक विपत्तिको समयमा उद्धार कार्यका लागि तथा अन्तरराष्ट्रिय विमानस्थलमा अनावश्यक हवाई चाप हटाउन पनि वैकल्पिक विमानस्थल आवश्यक हुने पोखरेलले उल्लेख गरे । अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यका ३० प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रूटमा हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)